तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु मदिरालाई ब्रान्डिङ गर्दै लुम्बिनी प्रदेश 

बाँके । लुम्बिनी प्रदेश सरकारले घरेलु मदिरालाई वैद्य बनाएर बिक्री वितरणको योजना बनाएको छ ।

घरेलु मदिरालाई प्रवद्र्धन गर्न आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा सरकारले पौने १३ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । योसँगै लुम्बिनी प्रदेशमा घरेलु मदिराले वैधता पाउने देखिएको छ ।

लुम्बिनी सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले बजेट वक्तव्यमा आदिवासी जनजाति समुदायबाट परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरा र पेय पदार्थको ब्राण्डिङ गर्न कानुनी व्यवस्था र औद्योगिक प्रवर्द्धनात्मक कार्यक्रमका लागि १२ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो ।

‘महुवा, अनदी, कोदो, मकै, जामुन, टिमुर, कुरिलो आदिको पेय पदार्थ र मदिरा उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गरी ब्राण्डिङ गर्न कानूनी व्यवस्थाका लागि बजेट व्यवस्था गर्दै विभिन्न स्तरका औद्योगिक प्रवर्द्धनात्मक कार्यक्रमका लागि १२ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ’–बजेट वक्तव्यमा उल्लेख छ ।

यस कार्यक्रमबाट २५ हजार जनाले रोजगार पाउने वा स्वरोजगारीमा आबद्ध गर्न सकिने प्रक्षेपण गरिएको छ ।

आदिवासी जनजातिको बाहुल्य रहेको लुम्बिनीसहित देशभर हालसम्म घरेलु मदिराको उत्पादन र बिक्री अवैध ढंगले भइरहेको छ । सरकारको यो घोषणालाई मदिरा व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश समितिले स्वागतयोग्य भनेको छ । 

महासङ्घका प्रेस अध्यक्ष शम्भु भट्टराईले घरेलु मदिराको गुणस्तर निर्धारण गरी आधुनिक प्रविधिमार्फत उत्पादन गरेर करको दायरामा ल्याई अन्य मदिरा जस्तै बिक्री वितरण प्रणालीबाट कारोबार हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button