तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भएको छ । 

छलफलमा सहभागी सांसदहरुले अर्थतन्त्रमा देखिएका समस्यालाई ध्यानमा राख्दै नीति तथा कार्यक्रम अनुरुप बजेटको आपसी मेल हुनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले मुलुकमा देखिएको अर्थतन्त्र, विकास निर्माण, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, युवा स्वरोजगार, उत्पादन लगायतका क्षेत्रमा समानुपातिक विकासको नीति अनुरुप बजेट समावेशी बनाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै सांसदहरुले बजेटका राम्रा कुरासँगै कमजोरी र रचनात्मक सुझावहरूलाई सरकारले सच्याउन तदारुकता देखाउनुपर्ने बताउनुभयो ।

मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन वित्तीय प्रणाली सुधार, अनुत्पादक क्षेत्रको लगानी नगर्न र खर्च कटौतीका लागि लिइएको नीति तथा कार्यक्रममा निर्वाचन कार्यालय कटौती, विभिन्न २० वटा संस्थाहरू खारेजी जस्ता बाझिने कार्यक्रम सुधार गर्नुपर्ने सांसदहरुले सुझाव दिनुभयो । 

यस अघि शुन्य समयमा बोल्दै सांसदहरुले भारत स्थित रहेको नेपाली राजदूतावास लगायत विभिन्न देशमा रहेको राजदूतावासको नाम सुधार गर्नुपर्ने , नक्कली भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्ने, अस्पतालहरूमा बिरामीसँगै कुरुवाको बस्ने व्यवस्थापन मिलाउनुपर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

यस्तै सांसदहरुले विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गर्नुपर्ने, हेटौडा सिमेन्ट उद्योगलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीहरू सेवानिवृत भएपछि पाउने सुविधाहरू उपलब्ध गराउनुपर्ने, मुलुकका विभिन्न स्थानमा खडेरी र बढ्दो तापक्रमले सर्वसाधारणहरूको जीवन अस्तव्यस्त बनेकाले राहत र उद्धारको व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक भोलि  बिहान ११ बजेर ३१ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button