तपाईँ सुन्दै हुनुहुन्छः

किसानको बाली वर्षेनी असिनाले चुटिदिन्छ !

बाजुरा । बाजुराका अधिकांश कृषक यो वर्ष पनि असिना पीडित हुनुपरेको छ । प्राय वर्षेनी आउने असिना पानीले किसानलाई चिन्तित बनाएको मात्रै छैन, खाद्यान्न संकट निम्त्याएको छ ।

बुधबार दिउसो बाजुराका विभिन्न भागका खेतबारी सेताम्य हुने गरी एक्कासी अविरल असिना वर्षियो । असिना पानीका कारण पाकेर घर भित्र्याउने बेला भएको गहुँ, फलफूल तथा दलहन बालीमा ठूलो क्षति भएको छ । असिना पानीले स्याउ, सुन्तला, अनार लगायतका फलफूल समेत नष्ट गरेको छ ।

‘वर्षभरि मेहनत गरेर घर भित्र्याउने बेला असिना पानीले खेतीबाली नष्ट गरिदिएपछि के खाने र छोराछोरीलाई कसरी पाल्ने भन्ने चिन्ता लागेको छ ।’ खप्तड छेडेदह ७ का लालबहादुर खड्काको दुखेसो छ । ‘उसै पनि वर्षभरि काम गरेर ६ महिना खान पुग्दैनथ्यो । छ महिना कुरेर खेती सिम्कोर्ने (भित्र्याउने) बेला भएको बाली क्षणभरको असिनाले सखाप बनाएपछि विकराल खाद्यान्न समस्या आयो’ उहाँको व्यथा ।

खडेरी र असिनाले सताउन थालेपछि ‘बोट जगाऊ, चामल खाऊ’ कार्यक्रम सञ्चालन गरिएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिनुभयो । प्राय असिना र सुख्खा खडेरीले धेरै नसताओस् र खाद्यान्न समस्याको दिगो समाधान होस भनी पचास हजार बढी फलफूलका बिरुवा रोपिएको उहाँले बताउनुभयो । ‘जति बोट हुर्कन्छन्, त्यही मात्रामा किसानले चामल पाइरहेका छन् । अब केही वर्षमा किसानहरूले फलफूलसँग खाद्यान्न साट्ने छन् ।’

बाजुरामा राम्रो उत्पादन भए वर्षमा ३६ सय मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । तर, कहिले सुख्खा खडेरी, कहिले असिना पानीले बालीनाली क्षति गरिरहन्छ ।

बाजुराका केही ग्रामीण भेगमा सडक सञ्जाल पुगेपछि आयातित खाद्यान्नको प्रयोग बढेको छ । तर, राहतले किसानको समस्या समाधान नहुने स्थानीयहरू बताउँछन् । “राहतले मात्र किसानको पेट भरिँदैन । खाद्य सुरक्षाका लागि राज्यले नीतिगत व्यवस्था गर्नुपर्छ । ” नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति मेखराज जैसीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button