तपाईँ सुन्दै हुनुहुन्छः

जनताको उपचारको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताको उपचारको जिम्मा सरकारले लिने बताउनुभएको छ ।

सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ३ ठोकर्पास्थित ठोकर्पा आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले उपचार नपाएर मृत्युको मुखमा जानुपर्ने नेपालीहरूको बाध्यतालाई सरकारले गम्भीर ढङ्गबाट लिएको र अब त्यस्तो बाध्यताको अन्त्य हुने बताउनुभयो ।

आफ्नो जीवनशैलीलाई परिवर्तन गर्दै दैनिक व्यायम गर्ने बानी बसाल्न सकियो भने अस्पताल र डाक्टर कुर्नु नपर्ने उहाँको भनाइ छ । “बिरामी भएर अस्पताल र डाक्टर कुर्ने हैन दैनिक १ घण्टा व्यायामका लागि समय दिनुहोस्, स्वास्थ्य आफैँ राम्रो हुन्छ” मन्त्री बस्नेतले भन्नुभयो ।

जिल्लाकै विकट मानिने ठोकर्पामा अस्पताल बनेपछि स्थानीय खुशी भएका छन् । सानोतिनो रोग लाग्दा पनि काभ्रेको धुलिखेल वा राजधानी धाउनुपर्ने बाध्यता हटेको छ ।

लिफ्ट सेवासहित १५ शैंयाको अस्पतालमा ३ वटा भवन, २९ वटा कोठा र ३० जना बिरामी राख्ने क्षमता भएको अस्पतालले जनाएको छ । दुई एमबीबीएस डाक्टरसहित मेडिकल, एक्सरे, ल्याब, इमरजेन्सी वार्ड, आँखा केन्द्र, इसीजी, अक्सिजन प्लान्टसहित दन्त सेवा जस्ता अत्यावश्यक प्राथमिक सेवा प्रदान हुने सुनकोसी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button