तपाईँ सुन्दै हुनुहुन्छः

स्ववियु निर्वाचन : रुपन्देहीका १२ क्याम्पसमध्ये ६ वटामा निर्वाचन

रुपन्देही । विद्यार्थी सङ्गठनहरू बीच विवाद भएका कारण स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने तय भएकामध्ये रुपन्देहीका १२ क्याम्पसमध्ये ६ वटामा मात्रै आज मतदान भएको छ। 

आज निर्वाचन भएका मध्ये १ वटाको नतिजा आइसकेको छ भने अन्य ५ वटामा मतगणना सुरु भएको छ । मतगणना सकिएको छपियास्थित जनता कलेजमा नेविसंघको प्यानल विजयी भएको छ ।

पश्चिम क्षेत्रकै ठूलो र पुरानो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा मतदान शान्तिपूर्वक भएको छ । बहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियु चुनावअन्तर्गत मतदान भएको हो। 

यसअघि २०६५ को स्ववियु चुनावमा मतदान भए पनि मतगणनाका क्रममा मतपत्र च्यातिएपछि नतिजा आएको थिएन । यहाँ ७ हजार १ सय मतदाता रहेकामा जम्मा २६८१ जनाले मतदान गरेका छन् ।

२०७३ सालमा मनोनयनका क्रममा विवाद भएपछि स्ववियु चुनाव हुन सकेको थिएन । आज विद्यार्थीहरू उत्साहपूर्वक चुनावमा सहभागी भएका छन्। बहुमुखी क्याम्पसको गेटमा उम्मेदवार तथा विद्यार्थीहरूले आ–आफ्ना पक्षमा मत मागिरहेका थिए ।

सबै दलका मुख्य नेताहरूले बहुमुखी क्याम्पसको चुनावप्रति चासो देखाउँदै जिल्ला तहदेखि केन्द्रीय नेताहरू क्याम्पसमा पुगेका थिए। पूर्व स्ववियु पदाधिकारी तथा पूर्व विद्यार्थी नेताहरूको पनि क्याम्पसमा बाक्लो उपस्थिति थियो ।

तीन दशकदेखि लगातार अनेरास्ववियुले जितिरहेको यो क्याम्पसमा उसले आफ्नो विरासत कायम राख्ने जनाएको छ भने अन्य प्रतिस्पर्धी सङ्गठनले आफ्नो जित हुने दाबी गरेका छन् । मुख्य सङ्गठनहरू यहाँ अलग अलग चुनावी मैदानमा छन् । अध्यक्षमा ६ जना उम्मेदवार भने । एमाले निकट अनेरास्ववियुलाई अखिल छैटौँले साथ दिएको छ ।

बुटवल बहुमुखीबाहेक रुपन्देहीका सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, कञ्चनको हरैया बहुमुखी क्याम्पस,  देवदहको देवदह आदर्श, शुद्धोधनको यज्ञोदय दुधनाथ  र सियारीको छपिया जनता कलेजमा मतदान सम्पन्न भएको छ।

चुनाव हुने तय भएका अन्य कतिपय क्याम्पसमा भने मनोनयन दर्तासमेत हुन सकेन। 

बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, तिलोत्तमाको राममणी क्याम्पस, गिर्वाण संस्कृत क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, ओमसतियाको पक्लिहवा कृषि क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले ताला लगाएका कारण मतदान हुन सकेन। विद्यार्थी सङ्गठनहरू स्ववियु चुनाव गर्ने प्रतिबद्धतामा राजी भएपनि विभिन्न कलेजमा भएको विवाद समाधान गर्न सकेका छैनन् ।  

लुम्बिनी वाणिज्य क्याम्पसमा नेविसंघले ताला लगाएको छ भने राममणि क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको लडाइँले विवाद बढेको छ । भैरहवा क्याम्पसमा ८ गते निर्वाचन मिति तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button