तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय क्रिकेट खेलाडी शेख दाजुभाइको वीरगंजमा भव्य स्वागत

वीरगंज ।  आइसिसी विश्वकप लिग–२ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका बीरगंजका दुई खेलाडीलाई वीरगंज महानगरपालिकाले आज स्वागत गर्दै सम्मानित गरेको छ ।

विश्वकपमा नेपाली टिम क्वालिफायर भएपछि पहिलो पटक गृह नगर वीरगन्ज आइपुगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सहोदर दाजुभाइ आरिफ शेख र आसिफ शेखलाई वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले महानगरपालिकाकै कार्यालयमा भव्य स्वागत गर्दै फुल माला अबिर, दोसल्ला ओढाएर सम्मानित गर्नुभएको हो ।

नगरप्रमुख सिंहले खेलाडीका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुर्‍याउन विशेष भूमिका निर्वाह गर्नुभएका बीरगंजका गहनाको रुपमा रहनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी शेख दाजुभाइलाई आगामी चैत १७ गते वीरगंजमा नागरिक अभिनन्दनसहित भव्य समारोहका बीच सम्मान गर्ने घोषणा समेत गर्नुभयो ।

नागरिक अभिनन्दन कार्यक्रममै वीरगंज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक/एक थान यामाहा एफ जेड एफ आइ मोटरसाइकल पनि प्रदान गर्ने नगरप्रमुख सिंहले बताउनुभयो ।  

महानगरले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै खेलाडीद्वय आसिफ र आरिफले महानगरको यो सम्मानले आफूहरूलाई अझ हौसला थपिदिएको बताउनुभएको थियो । 

खेलाडी आसिफ शेखले आफ्नो गृह नगरमा महानगरपालिकाबाट स्वागतसहित भव्य सम्मान पाउँदा आफूहरूको अब वीरगंज प्रतिको जिम्मेवार अझ बढेको भन्दै खुशी व्यक्त गर्नुभयो । 

खेलाडी शेख द्वयका बुबा शेख सलामले आफ्ना दुई छोरा अब आफ्ना मात्रै नभई देशकै छोरा भएको बताउँदै दुवै छोराले अझै देशको नाम योभन्दा राम्रो खेलेर थप उचाइमा पुर्‍याउने अपेक्षा आफूले लिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button