तपाईँ सुन्दै हुनुहुन्छः

सूर्योदय नगरपालिकाद्वारा ९६ वर्षीया कृष्ण कुमारी तामाङलाई नगर आमा घोषणा

इलाम । इलामको सूर्योदय नगरपालिकाले ९६ वर्षीया कृष्ण कुमारी तामाङलाई नगर आमा घोषणा गरेको छ ।

नारी दिवस सन्दर्भ पारेर सूर्योदय नगरपालिकाको वडा न ११ की ९६ वर्षीया कृष्ण कुमारी तामाङलाई नगरप्रमुख रण बहादुर राईले दोसल्ला प्रमाणपत्र पौष्टिक आहारा र नगद रु ५ हजार को साथ सम्मान गर्दै नगर आमा घोषणा गर्नु भएको हो ।

कार्यक्रममा फिक्कल प्रहरी चौकीका सहायक हवल्दार भिमा तामाङ, सरसफाइकर्मी प्रमीला मल्लिक र असल बुहारीको रुपमा सूर्योदय नगरपालिका १० की रञ्जना राईलाई नगद ५ हजार प्रमाणपत्रका साथ सम्मान गरिएको छ ।

यस अगाडि सूर्योदय नगरपालिका वडा न १४ की विष्णुमाया अधिकारी नगर आमा रहनु भएकोमा उहाँको स्वर्गारोहण भएपछि तामाङलाई नगर आमा घोषणा गरिएको हो ।

ज्येष्ठ नागरिक तथा आमाहरू वृद्धावस्थामा घरमा समाजमा अपहेलित हुन नपरोस् सबैले नारीको तथा ज्येष्ठ सदस्यको सम्मान गर्ने प्रेरणा मिलोस् भन्ने सन्देश दिन यसरी नगर आमा घोषणा गर्ने परिपाटी चलाएको नगर प्रमुख राईले बताउनु भयो । राईले नारीको स्तर वृद्धिकै लागि नगरको इच्छा छोरी बुहारीलाई शिक्षा भन्ने अभियानका साथ कार्यक्रम गरिरहेकोले नगर आमा घोषणा तथा अरू असल नारीहरूलाई सम्मान कार्य पनि गरेको बताउनु भयो ।

सम्मान पछि नगर आमा तामाङ यो ज्येष्ठ उमेरमा पनि नगरले सम्मान गरेको आफूलाई यति लामो समय सम्म बाचेकोमा धन्य भएको आभास गर्नु भयो ।

नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख तारा शेर्पाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने नगरको वार्षिक कार्यक्रम अन्तर्गत भएको र यस्ता कार्यक्रमले आमा बुवा ज्येष्ठ नागरिक र नारीहरू प्रति हेर्ने दृष्टिमा सकारात्मक परिवर्तन आउने अपेक्षा रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button