तपाईँ सुन्दै हुनुहुन्छः

निस्दी गाउँपालिकामा स्नातकोत्तर उत्तीर्ण महिला सम्मानित

रामपुर (पाल्पा)। पाल्पाको निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्तीर्ण महिलालाई सम्मान गरेको छ ।

पालिकाले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पालिकाभित्रका स्नातकोत्तर तह उत्तीर्ण दश जना महिलालाई सम्मान गरिएको हो । नगद रु पाँच हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । पाल्पाकै दुर्गम र विकट क्षेत्र मानिने निस्दी गाउँपालिकामा मगर समुदायको बाक्लो बसोबास छ ।

पालिकाभित्रका महिलालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न र बीचमै कक्षा छाड्ने दर घटाउन स्नातकोत्तर तह उत्तीर्ण महिलालाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताउनुभयो ।

“अझैपनि गाउँघरमा महिला शैक्षिक क्षेत्रको माथिल्लो तहसम्म पुग्ने कम छन्, महिला शिक्षित भएमात्रै घरपरिवार, समाज शिक्षित बन्छ, त्यसकारण महिलालाई शिक्षामा हौसला बढाउन सम्मान कार्यक्रम आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

ग्रामीण भेगमा बालविवाह व्याप्त छ । उमेर नपुग्दै विवाह गर्ने, बीचमै कक्षा छाड्ने प्रवृत्तिको अन्त्यका लागि यस्ता प्रोत्साहनमूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button