तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा आयो एटिआरको विज्ञ टोली, अनुसन्धान सुरु

 कास्की । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली पोखरा  आइपुगेको छ । एटिआर विमान निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली पोखरा आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनु भयो ।

‘एटिआर निर्माता कम्पनीबाट काठमाडौँ आएको ९ सदस्यीय विज्ञ टोली पोखरा पुगिसकेको छ’, उहाँले भन्नु भयो  ‘विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासो बढेको छ ।’ सरकारले विमान दुर्घटनापछि पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग समेत गठन गरिसकेको छ ।

आयोग सदस्यमा हवाई विज्ञका रूपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाश प्राप्त क्याप्टेन सुनिल थापा रहनु भएको छ  । साथै हवाई मर्मत विज्ञ एकराजजंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछाने रहेका छन् ।  । आयोगले आज देखि जाँचको काम सुरु गरिसकेको छ ।

विमान दुर्घटनामा परेका ७१ जनाको शव प्राप्त भइसकेको छ भने बाँकी २ जनाको खोजी जारी छ । उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइने छ भने बाँकी शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button