तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाका व्यवसायी आन्दोलित

दोलखा । दोलखाको बजार क्षेत्रमा देखिएको मन्दिले व्यवसायीहरू चिन्तित भइरहेका बेला बैङ्क तथा वित्तीय संस्थाहरूले ब्याजदरमा अत्यधिक वृद्धि र मानसिक दबाब बढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका छन् । 

दोलखा उद्योग वाणिज्य संघ र  दोलखा चेम्बर अफ कर्मशले संयुक्त आन्दोलनको घोषणा गरेको छ । उनीहरूको आन्दोलनमा कपडा तथा फेन्सी व्यवसायी संघ, इलेक्ट्रोनिक संघ, सिलाई बुनाई संघ, होटल व्यवसायी संघ र सुन चाँदी व्यवसायी सङ्घको पनि साथ रहेको कपडा तथा फेन्सी व्यवसायी संघका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताउनुभयो । 

व्यवसायीहरूले बुधवार हस्ताक्षर सहित प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्र बैङ्क र अर्थ मन्त्रालयमा मागपत्र प्रस्तुत गरेका छन् । उद्योगी व्यवसायीहरूले बिहीबार एक दिन बैङ्क तथा वित्तीय संस्थाहरूसँग सम्पूर्ण आर्थिक कारोबार समेत बन्द गरेका छन् । व्यवसायीहरूको आन्दोलनमा सरोकारवाला निकायले चासो नदिए पुस २४ गतेबाट थप सशक्त आन्दोलन गर्ने दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ र दोलखा चेम्बर आफ कर्मशका अध्यक्ष बिष्णु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

व्यवसायीहरूले चालु कर्जाको मार्ग निर्देशन खारेज गर्नुपर्ने, पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने, बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर एक अङ्कमा कायम गर्नुपर्ने, बैङ्क तथा वित्तीय संस्थाको आतङ्क बन्द हुनुपर्ने, कारोबारको आधारमा कर्जा दिने प्रावधान संशोधन हुनुपर्ने, चालु रहेको ओभर ड्राफ्ट कर्जा यथावत् राख्नुपर्ने, राष्ट्र बैङ्कको अव्यवहारिक नीति खारेज हुनुपर्ने, वर्षमा एक पटक चालु पुँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज हुनुपर्ने लगायतका माग राखेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button