तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण सम्पन्न

काठमाडौं: कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार  शुक्रबार वितरण गरिएको  छ।

वि.सं. २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण शुक्रबार भारती खरेल प्रतिष्ठानले तीनजना स्रष्टा र समाजसेवीलाई हस्तान्तरण गरेको हो। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा  वि.सं. २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः  वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिइएको जनाइएको छ।

उक्त पुरस्कार प्रमुख अतिथी एवं प्रज्ञा प्रतिष्ठानका निमीत्त कुलपति प्रा. डा. जगमान गुरुङ र भारती खरेल प्रतिष्ठानका संस्थापक चन्द्रिकानन्द खरेलले हस्तान्तरण गरेको जनाइएको छ। प्रमुख अतिथी प्रा.डा.गुरुङले  भक्तिमति खरेलको सेवा, सिर्जना र अध्यात्म साहित्य प्रतिको योगदान बारे प्रकाश पार्दै यो स्मृति पुरस्कारले नेपाली भाषा साहित्य,समाजसेवा लगायत क्षेत्रमा समर्पित व्यक्तित्वलाई थप उत्प्रेरणा दिँदै आएको बताए। प्रतष्ठानका अनुसार  पुरस्कारमा सम्मानपत्रसहित ५१ हजार रुपैयाँ राशी समावेश गरिएको  छ।  

प्रतिष्ठानले भक्तिमति एवं विशिष्ट साहित्य साधिका स्व. भारती खरेलको ८५ औं जयन्तीका अवसरमा यो पुरस्कार वितरण गरेको हो। स्व.  खरेलको स्मृतिमा वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति), वरिष्ठ गायक दीपक खरेल (छोरा) लगायतले स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते यस्तो समारोह आयोजना गर्दै आएको छ। प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमति भारती खरेलको जन्मजयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्तिलगायत विभिन्न क्षेत्रमा आवद्ध विशिष्ट व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button