तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र डा राउतबीच भेटवार्ता, सहकार्यबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारुढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ ।

यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा राउतबीच भेटवार्ता भएको थियो ।

प्रतिनिधिसभा सदस्यमा डा राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

समानुपातिकतर्फ सो पार्टीले हालसम्म कुल तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button