तपाईँ सुन्दै हुनुहुन्छः

महिला पत्रकारमाथि अनलाइन हिंसा बढ्दो

अनलाइनबाट हुने हिंसालाई न्यूनीकरण गर्न सरकारले कानून बनाउन लागेको छ : सचिव डा.अर्याल

काठमाडौँ । विभिन्न सञ्चार माध्यममा कार्यरत ८८ दशमलव ६ प्रतिशत महिला पत्रकारले अनलाइन हिंसा भोगेको पाइएको छ । 

मिडिया एड्भोकेसी ग्रुपले गरेको अध्ययनअनुसार २१ दशमलव ४ प्रतिशत महिला पत्रकारले अनलाइनबाट हिंसा सुरु भएर भौतिक आक्रमण र धम्कीको तहसम्मका हिंसा खेप्नुपरेको छ ।

फेसबुक, ट्विटर, भाइवर इस्टाग्राम र ह्वाट्स्आप लगायतका सामाजिक सञ्जालबाट महिला पत्रकारमाथि हिंसा हुने गरेको अध्ययनले देखाएको छ । 

अध्ययनअनुसार सबैभन्दा बढी ६१ दशमलव २ प्रतिशतले फेसबुक म्यासेन्जरबाट पत्रकार महिलाले हिंसा भोग्नुपरेको छ ।  

सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूले सबैभन्दा बढी सहकर्मीबाट ४१ दशमलव ३ प्रतिशत हिंसा भोगेको बताएका छन् । 

आज ललितपुरमा मिडिया एड्भोकेसी ग्रुपले एक कार्यक्रमको आयोजना गरी अध्ययन रिपोर्ट सार्वजनिक गरेको हो । 

अध्ययन सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले अनलाइनबाट हुने हिंसालाई न्यूनीकरण गर्न सरकारले कानून बनाउन लागेको जानकारी गराउनुभयो । 

उहाँले अनलाइन हिंसा हुने माध्यम मोबाइल सेवा प्रदायकहरूसँग पनि छलफल गरिने बताउनुभयो । 

यस अवसरमा सचिव डा.अर्यालले सरकारले सबै स्थानीय तहसम्म पुग्ने गरी  डिजिटल लिट्रेसी अभियान सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।  

त्यसैगरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महिला पत्रकारमाथि हुने विभिन्न खाले अनलाइन  हिंसा कम गर्न महासङ्घले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेतले महिला पत्रकारहरू कार्यस्थलदेखि समाचार स्रोतबाट समेत हिंसा खेप्न बाध्य हुनुपरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button