तपाईँ सुन्दै हुनुहुन्छः

बारामा बस दुर्घटना: मृतकको सङ्ख्या १६ पुग्यो

बारा । बारामा आज बिहान भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस आफै अनियन्त्रित भई रोडबाट १५/२० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नारायणगढबाट वीरगन्जतर्फ आउँदै गरेको बा.प्र ०६–००१ ख ०११० नम्बरको बस खोलामा आज बिहान करिब १० बजेर ३० मिनेटमा झरेको थियो ।

मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक र २३ जनाको अवस्था मध्यम रहेको छ ।

घाइतेमध्ये चुरेहिल अस्पताल हेटौडामा ७ जना, पुरानो मेडिकल हस्पिटल चितवनमा १५ जना, नयाँ मेडिकल हस्पिटलमा २ जना र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button