तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृतिलाई सन्तुलनमा राख्न जीव तथा प्राणीहरूको बासस्थान जोगाउनुपर्छ : पूर्व राष्ट्रपति डा.यादव

काठमाडौँ । पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रकृतिलाई सन्तुलनमा राख्न जीव तथा प्राणीहरूको बासस्थान जोगाउनुपर्ने बताउनुभएको छ । 

रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले आज ललितपुरमा आयोजना गरेको सर्पदंश रोकथामका लागि सञ्चार अभियान शुभारम्भ कार्यक्रममा पूर्व राष्ट्रपति यादवले प्राणी तथा वन्यजन्तुको बासस्थान मासिँदै गएपछि जीवजन्तुहरू मानिसको संसर्गमा आउने र तिनले दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो । 

विपन्न तथा मजदुर किसानको बस्तीमा सर्पको टोकाइबाट मानिसको मृत्यु हुने गरेको बताउनुहुँदै उहाँले सर्प दंशबारे जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । 

इपिडिमियोलोजि तथा रोक नियन्त्रण महाशाखाका निर्देश डा.चुमनलाल दासले सरकारले विभिन्न संघ संस्थाको सहकार्यमा सर्पदंश उपचार केन्द्र तथा जनशक्ति थप गर्न लागेको जानकारी गराउनुभयो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नेपालका विभिन्न २६ जिल्लामा सर्प दंशको त्रास रहेको र सर्पले टोकेपछि   अस्पताल आउनेहरूको सङ्ख्या बढेको जानकारी दिनुभयो । 

सर्प दंशको उपचारमा संलग्न हुँदै आउनुभएका डा. सञ्जीवकुमार शर्माले सर्पदंशबाट मानिस मात्रै नभई पशुपक्षीको समेत मृत्यु हुने गरेको बताउनुभयो । 

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा. राजेश सम्भाजिराव पाण्डवले बिषालु सर्पबाट बच्न मधेसका जिल्लाहरूमा जागरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

रोटरी क्लबले मधेसका १६ वटा जिल्लामा ५ वटा स्थानीय भाषामा उत्पादन गरेको सर्पदंश सम्बन्धी सन्देश विभिन्न रेडियोहरू, पोष्टर र सामाजिक सञ्जालबाट सञ्चालन गर्न ४ वर्षे सञ्चार अभियान थालनी गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button