तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन उद्योगको पुनरुत्थान गरिने  

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र समृद्धिको आधार भएकाले पर्यटन उद्योगको विकास र विस्तारमा सरकार लागि परेको बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच  होटल व्यवस्थापन पढाई गर्ने सम्बन्धमा सम्झौता गर्न आज मन्त्रालयमा आयोजित समारोहमा मन्त्री श्रेष्ठले कोरोना महामारीले थला परेको पर्यटन उद्योगको पुनरुत्थान हुने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो । 

उहाँले नेपाललाई विश्वभरिका पर्यटकहरूको गन्तव्य मुलुकका रुपमा  स्थापित गर्न पर्यटकको सङ्ख्या बढाइनुपर्ने र त्यसका लागि नेपालको मौलिक स्वागत, सत्कार र भोजनलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो । 

यस अवसरमा मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले नेपालमा पर्यटकको सङ्ख्या बढाउने गरी सरकारले योजना बनाइरहेको  जानकारी दिनुभयो । 

त्यसैगरी काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले विश्वविद्यालयले गुणस्तरीय शिक्षाका माध्यमबाट उत्कृष्ट जनशक्ति उत्पादन गर्ने गरी पढाइ सुरु गरेको जानकारी दिनुभयो । 

काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच ६ वटा प्रदेशमा  होटल व्यवस्थापन पढाई गर्ने गरी १० वर्षका लागि  सम्झौता भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button