२०७९ साल साउन ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘कृषि उपजको मूल्य आफैँ तोक्न पाउनुपर्छ’

मालाती मोक्तान २०७९ साउन २१ गते १७:३०

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ स्थित मजुवाका किसान विक्रम खड्का विगत ५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आइरहनुभएको छ ।

१० रोपनी जग्गामा निमार्ण गरिएका ७ वटा प्लास्टिक टनेलभित्र बेमौसमी तरकारी खेती उहाँले गरिरहनुभएको छ । ५० हजार खर्च गरी क्याप्सिकम जातको खुर्सानीका १० हजार बिरुवा रोकिएको उहाँले बताउनुभयो । अहिले खुर्सानी टिपेर बेच्ने समय भएको छ ।

एउटा प्लास्टिक टनेल बनाउन बाँस, मिस्त्री, प्लास्टिक गरी ४ देखि ५ लाख खर्च भएको उहाँले बताउनुभयो । यस वर्ष खुर्सानीले सोचेजस्तो बजार पाउन सके १० देखि १५ लाख आम्दानी हुने उहाँको अनुमान छ । अहिले क्याप्सिकम खुर्सानीको बजार भाउ ९० देखि १ सय १० रुपैयाँ प्रतिकिलो छ ।

तर, वर्षभरि मेहनत गर्ने किसानलाई २० रुपैयाँ नाफा कमाउन पनि मुश्किल भइरहेको उहाँको दुखेसो छ । दलाल र बिचौलियाले मूल्य तोक्ने हुँदा लगानी उठाउन समेत गाह्रो हुने गरेको खड्का बताउनुहुन्छ । आफूले उत्पादन गरेको कृषि उपजको मूल्य कृषकले नै तोक्न पाउनुपर्ने उहाँको माग छ ।

व्यापारीले २० रुपैयाँ लगानी गरेर २० रुपैयाँ कमाइरहेकाले पनि किसानलाई मर्का परिरहेको उहाँको भोगाइ छ ।

बजारीकरणको अभाव, उचित मूल्य नपाउनु, मल तथा बीउबिजन महँगो हुनु, बिचौलियाको मनोमानी, भण्डारणको अभाव, सरकारले नै प्रभावकारी रुपमा मूल्य नतोक्नु जस्ता कारण व्यावसायिक खेती गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो ।

कृषि बिमाको कार्यक्रम ल्याइए पनि प्रभावकारी नभएको भन्दै सरकारले किसानलाई सुरक्षित रुपमा बाँच्न सक्ने नीति ल्याउनुपर्ने उहाँ बताउनुहुन्छ ।

सम्बन्धित