तपाईँ सुन्दै हुनुहुन्छः

वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न

काठमाडौँ । प्रतिनिधिसभामा सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र र राजनीतिमा देखा परेका समस्याहरू समाधान गर्न पुनः एक पटक राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गर्ने मतदातालाई धन्यवाद दिनुहुँदै संविधान मिच्न चाहनेहरूलाई निर्वाचनले बलियो सन्देश दिएको बताउनुभयो ।

file photo

छलफलमा भाग लिनुहुँदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद विष्णु पौडेलले विकास आयोजनाहरूमा सरकारको नीति तथा कार्यक्रम पूर्वाग्रही भएको टिप्पणी गर्नुभयो ।

बैठकमा सत्तापक्ष नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले कृषिमा उत्पादकत्व बढ्ने गरी सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको र सोही अनुसारको बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता सम्बन्धी समस्या तत्काल समाधान गर्नुपर्ने उल्लेख गर्नुहुँदै सङ्घीय निजामती विधेयक सङ्घीय संसदबाट पारित गरेर कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो ।

अध्यक्ष यादवले विकासलाई सन्तुलित तवरले अगाडि बढाउने गरी कार्यक्रम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचन असाध्यै महँगो भएकाले यसमा सुधार गर्नुपर्ने र रामराजाप्रसाद सिंह मेडिकल कलेज स्थापना गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

छलफलमा भाग लिनुहुँदै सांसदहरू पुष्पा भुसाल, गिरिराजमणि पोखरेल, कल्याणी कुमारी खड्का, गजेन्द्र महत, पुष्पाकुमारी कर्ण कायस्थ र आशाकुमारी विकले सरकारको नीति तथा कार्यक्रममा समेटिएका सकारात्मक पाटाका बारेमा आ–आफ्नो मत राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button