तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशको ६ जिल्ला कोरोना सङ्क्रमणमुक्त

जनकपुरधाम । मधेस प्रदेशका ६ जिल्ला कोरोना संक्रमण मुक्त जिल्ला भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुने जिल्लाहरूमा सप्तरी, सिरहा, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्ला रहेको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यी ६ जिल्लाको संस्थागत तथा होम आइसोलेसनमा गरेर एक जना पनि कोरोनाका संक्रमित नभएको स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ । 

अहिले मधेस प्रदेशको धनुषा तथा महोत्तरी जिल्लामा मात्र १२ जना कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् । धनुषा जिल्लामा १० जना तथा महोत्तरी जिल्लामा २ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम तथा राजविराजमा रहेको प्रयोगशालामा ३२ जनाको स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमणको पुष्टि नभएको निर्देशनालयले जनाएको छ । 

यसै गरी नेपाल भारतको पर्सा जिल्लाको वीरगञ्ज नाकामा ५० जना तथा महोत्तरी जिल्लाको भिठामोड नाकामा ४२ जना गरेर ९२ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा कोरोना सङ्क्रमणको पुष्टि नभएको मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

खास गरेर नेपाल भारतको सिमानाकामा भारतबाट आउनेको एन्टिजेन परीक्षणका लागि मधेस प्रदेशको विभिन्न ४ वटा सिमानाकामा हेल्प डेस्क राखेर एन्टिजेन परीक्षण गर्दै आएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button