२०७८ साल माघ १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमाध्यमले जनताका पक्षमा वकालत गर्नुपर्दछ : प्रदेश प्रमुख गुरुङ

रेडियो नेपाल २०७८ मंसिर २२ गते १०:०९

कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चारमाध्यमले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताउनुभएको छ । पोखराबाट नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनको मङ्गलवार शुभारम्भ गर्दै उहाँले प्रेसले जनताको पक्षमा वकालत गर्ने दायित्व पूरा गर्न नसक्दासम्म लोकतन्त्र सबल हुन सक्दैन भन्नुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको प्रतिस्पर्धाका समयमा व्यावसायिक पत्रकारितासँगै मिडियाले सरकारले गरेका कमी–कमजोरी र निम्न तहका जनताका समस्या उजागर गर्नुपर्दछ ।” प्रदेश प्रमुख गुरुङले नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिश्चित गर्ने काममा निकै अगाडि रहेको उल्लेखसमेत गर्नुभयो । टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यम खोल्ने प्रतिस्पर्धा रहेको अहिलेको समयमा व्यावसायिक पत्रकारिताको मर्म, सिद्धान्त र आदर्शलाई आत्मसात गरेर सञ्चालन गर्नु र अगाडि बढाउनु मुख्य कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टेलिभिजन र सञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धिसँगै जनताको मुद्दा, जनताको दुःख पीडा कति मुखरित भएको छ भन्ने महत्त्वपूर्ण छ । सञ्चारमाध्यम अझ बढी जनमुखी हुँदै जनताका प्राथमिकतालाई उठाउनु आवश्यक छ ।”

सांसद खगराज अधिकारीले आम नागरिकको स्वतन्त्रताको मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रदेशका समृद्धिमा टेलिभिजनले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उद्योग व्यवसाय, पर्यटन, शिक्षालगायतका क्षेत्रका मुद्दाहरू टेलिभिजनले उठाउनुपर्ने बताउनुभयो । टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतिले कोरोना त्रासका बीचमा पनि टेलिभिजन सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहे पनि दूरदराजका आवाजविहीनहरूको आवाजलाई आम दर्शकमाझ ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । टेलिभिजनका कार्यक्रमहरू विभिन्न सामाजिक सञ्जाल तथा मोबाइल एप्स, वेबसाइटमार्फत हेर्न सकिने प्रबन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित