तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा उपमहानगरपालिकाद्धारा १३ तल्ले बहुउद्देश्यीय भवन निर्माणको सम्झौता

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि आज सम्झौता गरिएको छ । 

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र लामा, रसुवा, बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँबिच आज सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

कूल ७७ करोड ९३ लाख ७२ हजार रुपियाँ लागत अनुमान गरेर ठेक्का आव्हान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपियाँ लागतमा लामा, रसुवा, बानियाँ जेभीले ठेक्का सकार गरेर आज सम्झौता गरिएको हो । 

हेटौँडामा सबै भन्दा धेरै रकम लगानीमा हेटौँडाको बसपार्कमा बस टर्मिनल, थानाभर्याङमा तरकारी थोक बजार र आज सम्झौता गरिएको बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको मेयर हरिबहादुर महतले बताउनुभयो । 

उपमहानगरपालिकाको ठुलो लगानी भएका तीन वटा भवन मध्ये दुई वटाको काम भइरहेको  छ । अर्को भवन भने आज सम्झौता गरिएको मेयर महतले जानकारी दिनुभयो । 

हेटौँडामा तरकारी थोक बजार प्रदेश सरकार र उपमहानगरपालिकाको लगानीमा निर्माण भइरहेको  छ भने अन्य दुई वटा भवन उपमहानगरपालिकाले आफ्नै लगानीमा निर्माण गर्न लागेको उहाँले बताउनुभयो । 

हुप्राचौरमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवन भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपियाँ लागत निस्किएको थियो । त्यस बाहेकमा ठेक्का आव्हान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । 

कुल लागतमा ३८ दशमलव २८ प्रतिशत घटेर तीन वर्षमा काम सम्पन्न गर्ने गरी लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेको छ । 

१३ तले भवनमा दुई तलाको अन्डरग्राउन्ड, चारतिरबाट लिफ्ट, दुई वटा भर्‍याङ, सबै भन्दा माथि भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाईले बताए । व्यापारिक भवनको सबै भन्दा माथिको भ्यु टावरबाट हेटौँडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button