तपाईँ सुन्दै हुनुहुन्छः

प्रलेस दाङले चार जना साहित्यकारलाई पुरस्कृत गर्ने

घोराही । हरेक वर्ष जस्तै यो वर्ष पनि प्रगतिशील लेखक संघ, नेपाल दाङ शाखाले चार जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेस दाङको प्रतिभा छनौट समितिको निर्णय अनुसार यो वर्ष विभिन्न चार साहित्यकारलाई पुरस्कृत गर्ने भएको हो ।

यसवर्ष प्रगतिशील साहित्यिक पुरस्कार प्रलेस दाङका पूर्व उपाध्यक्ष डिल्ली मल्ललाई प्रदान गरिने भएको छ । यस्तै चिन्तामणि जमुना साहित्य पुरस्कार साहित्यकार नविन विभाषलाई प्रदान गरिनेछ । यस्तै अनन्त टिका प्रतिभा पुरस्कार साहित्यकार तथा पत्रकार केबी मसाललाई प्रदान गरिने छ भने गोविन्द चिस सर्जक पुरस्कार साहित्यकार रेशम बिसीलाई प्रदान गरिने भएको छ ।

प्रगतिशील लेखक संघको २९ औँ स्थापना दिवसका अवसरमा आगामी पुस ३ गते पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा, केन्द्रिय सदस्य शरद अधिकारी र जिल्ला सल्लाहकार पुरुषोत्तम खनाल सदस्य रहेको छनौट समितिले पुरस्कृत प्रतिभाको छनौट गरेको हो ।

शाखा स्थापना दिवसका अवसरमा साहित्यको श्रीवृद्धिका लागि भूमिका खेल्नुभएका ऋषिराज जङ्गली (पौडेल) लाई सम्मान गरिने भएको छ । प्रलेस दाङका अध्यक्ष देवकोटाले हरेक बर्ष एक जना साहित्यकार तथा साहित्यानुरागीलाई पुरस्कृत गर्दै आएकोमा यस बर्ष जङ्गलीलाई पुरस्कृत गर्न थालिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button