तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्रीले भन्नुभयो : विजयी भएर आउनुहोस् सरकारले सुशोभित गर्नेछ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रिय रुपमा तक्मा दिएर सुशोभित गर्ने बताउनुभएको छ । 

राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई तक्मा दिन चाहेको कुरा आफैँले फोन गरेर भनेको  सुनाउनुभयो । 

सम्मान समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, “अर्को पटक नेपाली फुटबल टिम विजयी भएर आयो भने सबै सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सुशोभित गर्नेछौँ ।” 

गएको असोज ३० मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोली उपविजेता बन्न सफल भएको थियो । विगत २८ वर्षको इतिहासमा पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।

नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय समितिद्वारा आयोजित ती खेलाडीका लागि उक्त सम्मान समारोहमा मन्त्री खाँडले सरकारले बजेटका सीमितताका बीच साफ च्याम्पियनसिपमा सहभागी प्रतिखेलाडीलाई रु पाँच लाख र टिम व्यवस्थापकलाई रु तीन लाख दिने घोषणा गरेको जानकारी पनि दिनुभयो । 

“यसले खेलाडीलाई हौसला प्रदान गरिएको हो, यसले नेपालको खेल क्षेत्रलाई माथि उठाउन प्रोत्साहन मिल्ने विश्वास छ”, गृहमन्त्रीले थप्नुभयो ।

उहाँले खेलकुद जीवनको अभिन्न अङ्ग भएको पनि बताउनुभयो । मन्त्री खाँणले हरेक प्रहरी अधिकृत र जवानको पेट पनि खेलाडीको जस्तै बनाउन भनेको र यसअघि आफू रक्षा मन्त्री हुँदा सेनालाई पनि त्यही अभ्यास गराएको जानकारी दिनुभयो ।

फरक प्रसङ्ग जोड्दै गृहमन्त्री खाँणले नेपाल प्रहरीमा परिवर्तन ल्याउने प्रयास सुरु गरिएको र कुनै पनि हाकिमले कर्मचारीलाई तँ भन्न नपाउने गरी निर्देशन जारी गरेको बताउनुभयो । 
उहाँले प्रहरी परिचर, सिपाहीको वृत्ति विकासका लागि प्रहरी नियमावली संशोधन गर्न थालिएको जानकारी दिनुभयो । उहाँले जातीय विभेदविरुद्ध कडाइका साथ कानुन कार्यान्वयनमा लाग्न निर्देशन जारी गरेको उल्लेख गर्नुभयो ।

समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख शङ्कर भण्डारीले खेलाडी राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै खेलकुदको विकासले मात्रै मुलुकको विकास सम्भव रहेको बताउनुभयो । 

नेता भण्डारीले नेपाल सरकार र हरेक राजनीतिक दलले खेलकुदको विकासका साथै खेलाडीमैत्री नीति नियम होस् भन्ने खेलाडीको चाहना पूरा गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले काँग्रेसले खेलकुद मन्त्रालय पायो भने सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने दाबी पनि गर्नुभयो ।

समारोहमा अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीको सम्मानको सुरुआत आजबाट भएकोमा खुसी व्यक्त गर्दै मुलुकमा आफूले फुटबलको नेतृत्व गरे पनि सन्तुष्टि हुने ठाउँ नरहेको बताउनुभयो । 

उहाँले फुटबलको पूर्वाधार विकासमा नेपाल कमजोर रहेकाले अन्तर्राष्ट्रियस्तरका खेल मैदान र खेल क्षेत्रमा बजेटको उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो । 

खेलाडी सुजल श्रेष्ठले नेपालीको माया र सहयोगले नै नेपाली फुटबल यहाँसम्म पुगेको बताउँदै अझै हौसलाको खाँचो रहेको औँल्याउनुभयो । उक्त समारोहमा नेपालमा उपलब्ध खेलाडी र खेल व्यवस्थापकलाई नगदसहित सम्मान गरिएको थियो । 

समारोहमा नेपाली कांग्रेस काठमाडौँका सभापति नीलकाजी शाक्य, नेपाली कांग्रेस खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन, अर्को नेता खिमानसिंह रायमाझीलगायतले बोल्नुभएको थियो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button