तपाईँ सुन्दै हुनुहुन्छः

तिहारलाई लक्षित गरी लगाइएको सयपत्री फुल दसैँमै फुल्यो, किसानलाई चिन्तित

 

तनहुँ । तिहारका लागि लक्षित गर्दै लगाइएको सयपत्री फुल दसैँ नसकिँदै फुल्न थालेपछि किसान चिन्तित बनेका छन् ।   

तिहारमा बेच्नका लागि लगाइएको फुल तिहार आउनु तीन हप्ता अगावै फुलेपछि किसानलाई चिन्तित भएका हुन् ।

यो बर्ष आवश्यकताभन्दा बढी वर्षा भएर मौसम समेत गर्मी भएका कारण समय अगावै फुल फुलेको किसानहरू बताउँछन् । यसरी तिहारभन्दा अगावै फुलेको सयपत्रीले बजारमा उचित मूल्य नपाउनेमा उनीहरूको चिन्ता छ ।

भिमाद नगरपालिका–८ अरौदीमा व्यावसायिक रुपमा सयपत्री फुलको खेती गर्नुभएका गोविन्द अधिकारीले दसैँ अगाडी नै फुल फुल्दा निकै सस्तो मूल्यमा बेच्नु परेको बताउनुहुन्छ ।

“समयअघि नै फुल फुल्यो, स्थानीय बजारमा निकै कम मूल्य पाउँदा यस बर्ष फाइदा नहुने भयो”, अधिकारीले भन्नुभयो,“फुलेको फुल तिहारसम्म रहे राम्रो मूल्यमा बिक्री गर्न पाइन्छ कि भन्ने आशा छ ।”

गत बर्ष परीक्षणका लागि थोरै जमिनमा सयपत्री फुल लगाएर अपेक्षाभन्दा राम्रो आम्दानी लिन सफल हुनुभएका उहाँले यसबर्ष झण्डै पाँच रोपनी क्षेत्रफलमा सयपत्री फुलको व्यावसायिक खेती गर्नुभएको छ । उहाँले चितवनबाट १० हजार सयपत्रीको बेर्ना खरिद गरेर ल्याइ खेती गरेको बताउनुभयो  । 

सयपत्री खेतीबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला वर्षमा कृषकहरू आकर्षित भएका छन् ।

समय अगावै फुलेर नोक्सानी व्यहोर्ने किसानका लागि कुनै निकायले राहत दिदैन् । 

कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा फुल खेती गर्नेहरूका लागि कुनै राहतका कार्यक्रम नभएको जनाएको छ । 

जिल्लामा व्यवसायीक फुल खेती गर्नेहरूको तथ्याङ्क नै नहुँदा फुल खेती गर्ने किसानलाई लाभान्वित गर्ने कार्यक्रमहरू नभएको कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले बताउनुभयो । 

उहाँले कृषि ज्ञान केन्द्रमार्फत किसानको माग अनुसार कार्यक्रम तय हुने भएकाले फुल खेतीतर्फ कुनै पनि योजनाको माग नभएको बताउनुभयो । 

सानो मात्रामा फुल खेती गरेर बजार खोज्नेहरू सम्पर्कमा आउने गरेको जानकारी दिनुहुँदै सिलवालले समस्या लिएर भने ज्ञान केन्द्रमा नआएको बताउनुभयो ।

किसान मारमा परेको गुनासो भए पनि सयपत्री खेती गर्ने बेलामा नै ध्यान नपुग्दा समस्या हुने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले फुल खेती गर्ने किसानलाई एशोसियशनसँग सल्लाह लिएर मात्र खेती गर्न आग्रह गर्नुभयो । 

उहाँले आफूहरूले पुष्प खेतीका लागि प्राविधिक सल्लाह दिनेदेखि उत्पादन विक्री गर्न बजार व्यवस्थापनको लागि पहल गर्न सक्ने बताउनुभयो । 

अध्यक्ष तामाङले सयपत्री खेतीका लागि वर्षाले उत्पादनमा असर नपार्ने स्पष्ट पार्दै सयपत्रीको बिउ छनौट अनुसार फुल फुल्न ढिलो चाँडो हुनसक्ने जनाउनुभयो ।

एसोसिएसनका अनुसार देशमा ४३ जिल्लाका ७ सय बढी किसानले फुल खेतीलाई व्यावसायिक रुपमा अघि बढाएका छन् । 

करिब ३ अर्बको फुलको वार्षिक कारोबार हुने जानकारी दिनुहुँदै अध्यक्ष तामाङले नेपाली बजारको मागलाई ८५ प्रतिशत स्वदेशी उत्पादनले धान्ने दाबी गर्नुभयो । 

हरेक बर्ष तिहारको तीन दिन १० देखि ११ करोड बराबरको सयपत्रीको कारोबार हुने गरेको एशोसियसनसँग तथ्याङ्क छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button