तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ः दसैँ अवधिमा सवारी दुर्घटनाबाट ४० जनाको मृत्यु

वीरगन्ज । प्रदेश नम्बर २ का ८ जिल्लामा दसैँ पर्वको अवधिमा भएको दुर्घटनामा ४० जनाको मृत्यु भएको छ भने १०६ जना गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । 

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले दिएको तथ्याङ्क अनुसार विगत २ साता यता प्रदेशका ८ जिल्लामा २ सय ५८ सवारी दुर्घटना हुँदा ४० जनाको ज्यान गएको र दुर्घटनामा १ सय ६ जना गम्भीर घाइते तथा ३ सय २ जना सामान्य घाइते भएका छन् ।

३ सय ८५ वटा सवारी दुर्घटनामा परेका छन् । प्रदेश प्रहरी कार्यालयका ट्राफिक प्रहरी नायब उपरीक्षक सन्तु जयसवारले अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण भएको बताउनुभयो । उहाँले चाडबाड, मेलामा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा पनि दुर्घटना भएको जानकारी दिनुभयो । 

विगत केही वर्ष यता सवारी साधनको बढ्दो चाप, बिग्रेको सडक, ट्राफिक नियमको पालनामा कमी, मादक पदार्थ सेवनपछि लापरबाहीपूर्वक गाडी चलाउने प्रवृत्तिले मानवीय क्षति बढिरहेको प्रदेश २ का ट्राफिक प्रमुख जयसवारले बताउनुभयो । 

उहाँले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणको प्रयास गरिरहेको र चालकहरूको लापरबाही रोकिएमा तथा सडक व्यवस्थित भएमा दुर्घटना न्यूनीकरण गर्न सकिने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button