तपाईँ सुन्दै हुनुहुन्छः

धान भित्र्याउने बेलामा वर्षा भएपछि किसान चिन्तित

स्याङ्जा । आइतबार राति देखिको वर्षाका कारण स्याहार्ने बेलाको धानमा असर पार्ने हो की भन्ने चिन्ताले कृषक चिन्तित बनेका छन् । पहेँल पुर भएको धान निरन्तरको झरी र हावाहुरीले ढलाउने र हकुवा हुने पिरले कृषक चिन्तित बनेका हुन् । 

दसैँ मनाएपछि धान काट्ने योजना बनाउनुभएकी पुतली बजार १२ की पार्वती रानालाई वर्षाका कारण धान ढलाउने हो की भन्ने चिन्ता छ । निरन्तर वर्षाका कारण धान ढल्ने र धान हकुवा हुने उहाँको भनाई छ । 

त्यस्तै पुतली बजार ११ का पीताम्बर पौडेल दसैँको भोलिपल्ट काटेको धान पानीले डुबाइदिएपछि चिन्तित हुनुहुन्छ । धानको पाँजोलाई पानीले डुबाइदिएपछि हकुवा हुने चिन्ता पौडेलको छ । बरु दुईचार दिन ढिला गरी धान काटेको भए यस्तो जोखिम नहुने उहाँले बताउनुभयो ।  

फेँदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बेमौसमी वर्षाले लहलह झुलेका धान खेतीलाई असर गरेको बताउनुभयो । 

उता कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले भने नकाटेको धानलाई सामान्य सिमसिम पानीले खासै असर नगर्ने बताउनुभयो । हावाहुरी सहितको निरन्तरको वर्षाले अग्लो धानलाई ढलाउने तर अहिले वर्षा मात्रै भएकाले धानलाई धेरै असर नगर्ने हमालको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button