तपाईँ सुन्दै हुनुहुन्छः

दुई मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

राजविराज । सप्तरीमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गए राति खडक नगरपालिका ४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा बा५६प २५१५ नम्बरको मोटरसाइकलमा सवार झापाको शिवसतासी नगरपालिका वडा नम्बर– ६ बस्ने वर्ष २२ को विवेक सापकोटा र स५प ८४३४ नम्बरको मोटरसाइकलमा सवार झापाकै भद्रपुर नगरपालिका वडा नम्बर –४ बस्ने वर्ष २१ को दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । 

दुर्घटनामा स५प ८४३४ नम्बरको मोटरसाइकलमा सवारमा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ७ बस्ने ३५ वर्षका चन्दन कुमार साह गम्भीर घाइते भएका छन् । 

उनलाई उपचारका लागि विराटनगर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button