तपाईँ सुन्दै हुनुहुन्छः

संसद् अवरोधले अध्यादेश निष्क्रिय : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनुभएको हो ।

महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय बनाउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अध्यादेश खारेज गरिएको होइन । निष्क्रिय भएको छ । संसद्को अवरोध हटेपछि यसलाई सक्रिय बनाउँछौ ।” हिंसामा परेका महिलालाई न्याय दिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो ।

महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्नका लागि आफूले यस मन्त्रालय रोजेको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको कानुनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदै नयाँ कानुन बनाएर महिला, बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्छौँ ।”

मन्त्री रेग्मीले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान असहज भएको भन्दै घरघरै सामाजिक सुरक्षा भत्ता पुर्‍याउने गरी सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हुनेखानेलाई त सहज होला निमुखाहरूलाई कठिन भएको छ ।”

सरकारले अब बालबालिकाको खोपलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बालबालिकाका लागि खोपको व्यवस्था हुँदैछ ।” विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो । 

आफूले सम्हालेको मन्त्रालयमा केही ठोस काम गर्नुपर्ने देखिएको बताउँदै उहाँले नीति निर्माण तहसम्म महिलालाई ल्याउनका लागि आफू र सरकार लाग्ने बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गर्नुभयो । गठबन्धनलाई मिलाउनका लागि सरकारले पूर्णता पाउन कठिन भएको भन्दै उहाँले अब रोकिएका कामहरू सहज रुपमा अगाडि बढ्ने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button