तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा तीन करोड लागतमा बीउ उद्योग स्थापना

सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट बीउ उद्योग स्थापना गरिएको छ । 

शीतल एग्रो बिजनेस प्रालिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बीउ बिजन उद्योग स्थापना गरेको हो । 

पहिलो चरणमा करिब ३० लाख लागतमा सुरु गरिएको कर्णाली बीउ उद्योगमा ३० प्रकारका बीउ बिजन तयारी गरी बजारमा पठाइएको छ । 

करिब तीन करोड लागत लाग्ने कर्णाली बीउ उद्योगका लागि मुक्तिनाथ विकास बैङ्कले ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भइसकेको शीतल एग्रो बिजनेस प्रालिका अध्यक्ष सूर्यनाथ योगीले बताउनुभयो । 

उहाँले कर्णालीका विभिन्न जिल्लामा कृषि समूह, सहकारी तथा संस्थाद्वारा उत्पादित मूल बीउलाई सङ्कलन गरी प्रशोधन गरेर आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन बीउ उद्योग स्थापना गरिएको जनाउनुभयो । 

“कर्णालीमा उत्पादित बीउ बिजनको माग देशमा मात्र होइन, विदेशमा समेत उच्च रहेको छ,” उहाँले भन्नुभयो, “कर्णाली बीउ उद्योगमार्फत आन्तरिक मागलाई सम्बोधन गर्दै मुख्य लक्ष्य गुणस्तरीय बीउ विजन विदेश निर्यात गर्नु नै हो ।” 

उहाँले कर्णालीको बीउलाई बङ्गलादेशपछि भारतसँगै तेस्रो देशमा निर्यात गर्नु दीर्घकालीन लक्ष्य रहेको जनाउनुभयो । 

उहाँका अनुसार स्थानीय स्तरमा खोलिएको कर्णाली बीउ उद्योगले रोजगारीसँगै कृषकको दिगो आम्दानीको मुख्य स्रोत बन्ने छ । 

पहिलो चरणमा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयमार्फत १४ लाख २५ हजारको आर्थिक सहयोगसँगै प्रालिको १५ लाख ४० हजार दुई रुपैयाँ खर्च भएको प्रालिका अर्का सञ्चालक डिल्लीप्रसाद पाण्डेले बताउनुभयो । 

उहाँका अनुसार विभिन्न जातका बीउ बिजन उत्पादनसँगै जडीबुटी सङ्कलन, प्रशोधन गर्ने उद्योगको रुपमा विकास गर्ने भावी योजना रहेको छ । 

यसैबीच कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्राले बिहीबार कर्णाली बिउ उद्योगको उद्घाटन गर्नु भएको छ  । 

उहाँले गुणस्तरीय कायम राख्दै कर्णालीको बीउ बङ्गलादेश र भारतमा मात्र सीमित नराखेर तेस्रो मूलक निर्यातको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँका अनुसार बीउ बिजन उत्पादनका क्षेत्रमा लगानी गर्न चाहने उद्यमीका लागि कर्णाली प्रदेश सरकारले ५ वर्षे लाभकारी योजना ल्याएको छ । 

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका प्रमुख भोजराज सापकोटाले बीउ बिजन उत्पादनका क्षेत्रमा सङ्घीयतापछि तीन तहका सरकारी एजेन्सी वीच समन्वय नहुँदा केही समस्या देखिए पनि अब एकीकृत रुपमा अगाडी बढ्न आवश्यक रहेको औँल्याउनुभयो । 

कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर केसीले साना–साना उद्यमबाटै ठूलो उद्योग स्थापना हुने भएकाले निर्देशनालय कृषकसँगै कृषि क्षेत्रमा लगानी गर्न चाहने उत्साही उद्यमीसँग हातेमालो गर्न तयार रहेको  बताउनुभयो । 

त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कणालीलाई अर्ग्यानिक प्रदेश बनाउने कर्णाली सरकारको घोषणा अब कागजमा मात्र होइन, व्यवहारमा समेत कार्यान्वयन गर्नु पर्ने बेला आएको जिकिर गर्नुभयो । 

उहाँले कर्णाली कृषि तथा जडीबुटीका लागि भर्जिन क्षेत्र  भए पनि  आधा बढी जनसङ्ख्या आयातित खाद्यान्नको भरमा परनिर्भरता रहेकाले प्रदेश सरकारले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण सृजना गरी सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभयो । 

उद्योग उद्घाटन कार्यक्रममा कृषि, बैङ्क तथा वित्तीय क्षेत्रका जानकारहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button