तपाईँ सुन्दै हुनुहुन्छः

धानको समर्थन मूल्य पाएपनि लागत उठ्न कठिन हुने किसानको भनाई

जनकपुरधाम । धानको समर्थन मूल्य नेपाल सरकारले तोकेपछि समर्थन मूल्य पाउन तथा त्यसबाट लागत मूल्य उठ्न कठिन हुने धनुषाका किसानहरूले बताएका छन् । 

सरकारले चालु आर्थिक वर्षका लागि मोटो धानको मूल्य प्रति क्विन्टल २ हजार ७ सय ५२ तथा मसिनो धानको मूल्य २ हजार ९ सय २ रुपैयाँ तोकेको छ । तर सरकारले तोकिएको मूल्यमा धान बिक्री नहुने विगत वर्षको अनुभव रहेको धनुषाका अगुवा किसान दिनेश कुमार यादवले बताउनु भयो । 

करिब ७ बिघामा सवर्णा, वास्मति तथा हर्दिनाथ जातको धानको खेती गरेको बताउँदै गत वर्ष तोकेको समर्थन मूल्य नपाएको गुनासो यादवको रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान जोन कार्यक्रमका धनुषा संयोजक समेत रहनु भएका यादवले अहिले धानको उत्पादन लागत निक्कै बढेको बताउनुभयो । 

गत वर्ष प्रति कट्ठा ४ सयमा धानको रोपाई भएकोमा यस वर्ष प्रति कट्ठा ५ सयमा रोपाई गरेको बताउँदै मजदुरको मूल्यमा २० प्रतिशत वृद्धि भए पनि सरकारले समर्थन मूल्य गत वर्ष भन्दा ७ प्रतिशत मात्र मूल्य वृद्धि भएको छ । उहाँले यसका साथै रासायनिक मलको मूल्य पनि वृद्धि भएकाले लागत उठाउन कठिन हुने बताउनुभयो । 

गत वर्ष मोटो धानको मूल्य २ हजार ७ सय ३५ किलोमिटर तथा मसिनो धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ तोकिएको थियो । गत वर्ष आम किसानले तोकेको समर्थन मूल्य पाउन सकेका थिएन । खाद्य संस्थानले कोटाअनुसार मात्र धान खरिद गरे पनि आम जनताको धान खरिद नभएको कमला नगरपालिका वडा नंं २ माचीका किसान शिवशंकर राउतले बताउनु भयो । 

समर्थन मूल्य पाउनका लागि भारतीय धानको अवैध आयातमा कडाइ गर्न आवश्यक रहेको छ । खुल्ला सीमाना भएको कारणले भारतबाट धान आउने गरेको छ । भारतमा धानको उत्पादन लागत कम हुने भएकाले नेपालका धानले प्रतिस्पर्धा गठ कठिन भएको राउतले बताउनुभयो । 

धनुषा जिल्लामा रहेका कूल कृषि योग्य भूमि मध्ये ३५ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका धनुषाका इकाईका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत यूगल  किशोर तिवारीले बताउनुभयो । समर्थन मूल्य किसानलाई दिलाउनका लागि सरकारी स्तरबाट खरिदको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button