तपाईँ सुन्दै हुनुहुन्छः

खाद्यान्नमा छुट दिँदा विपन्न नागरिकलाई राहत

जुम्ला  । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ तिहार र छठ पर्वलाई लक्षित गरी खाद्यान्नमा छुट दिएको छ । 

देशका ३९ जिल्लाका ४१ स्थानमा सहुलियत पसल सञ्चालन गरेर विपन्न नागरिकको राहतका लागि खाद्यान्नमा छुट दिएको हो ।  

जस अनुसार जुम्लामा पनि असोज १ गतेबाटै सहुलियत पसल सञ्चालनमा आएको छ । विगतको भन्दा प्रतिकेजी चामलमा ५ रुपैयाँ र प्रति क्वीइन्टलमा ५ सय छुट पाएपछि जुम्लाका विपन्न नागरिकले राहत महसुस गरेका छन् ।

चन्दननाथ ८ की रुपकन्या दमाई भन्नुहुन्छ, “खाद्यान्नमा छुट दिँदा आउने जाने भाडा, खाजा खर्च बच्दा पनि राहत भएको छ । दसैँ तिहार अवधिमा मात्रै छुट दिनुभन्दा विपन्न नागरिकका लागि सधैँ छुट दिनुपर्छ ।”

त्यस्तै पातारासी ५ का मिम बहादुर बुढाले भन्नुभयो, “बजारमा अहिले आर्शिबाद चामल १९ सय प्रति बोरो मूल्य छ । अन्य चामल प्रतिबोरा १६ सयदेखि माथि नै छ । सामान्य नागरिकले बजारको चामल किन्न सक्ने स्थिति छैन । बजारकै जस्तो स्वादिष्ट चामल दालमा छुट दिएपछि खुसीसँगै राहत महसुस भएको छ ।” 

विगत जस्तै चाडपर्व लक्षित खाद्यान्नमा छुट पाएपछि जुम्लाका विपन्न नागरिक खुसी भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लामा दसैँ तिहार र छठ अवधिभर छुट दिनका लागि १ हजार क्वीइन्टल खाद्यान्न कोटा स्वीकृत भएको शाखा प्रमुख तिलक सुनारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जुम्लामा लागि स्वीकृत भएको १ हजार क्वीइन्टल मध्ये ७ सय क्वीइन्टल ७ पालिका र ३ सय क्वीईन्टल चन्दननाथ नगरपालिकाका लागि छुटाइएको छ । सङ्क्रमणलाई मध्यनजर गर्दै कुन तहका नागरिकले कुन दिन खाद्यान्न लिने भन्ने समय तालिम समेत बनाइएको छ ।”

खाद्य संस्थान जुम्लाले बिक्री गर्दै आएको अरुवा मोटा, अरुवा सोना मन्सुली, जिरा मसिनो चामल, मास, मुसुरो र अरहरीको दाल लगायत अन्य खाद्यान्नमा विगतको मूल्यभन्दा प्रतिकेजी ५ रुपैयाँ र प्रति क्वीईन्टलमा ५ सय रुपैयाँ छुट दिइएको छ ।

असोज १ गतेबाट सुरु भएको सुपथ मूल्य पसलबाट जुम्लाका ४७ जनाले सेवा लिएका छन् । 

पहिलो दिनमै करिब १९ क्वीईन्टल चामल विक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका लेखापाल दिपक शर्माले बताउनुभयो । 

उहाँले भन्नुभयो,“खाद्यान्नमा थोरै भए पनि छुट पाउँदा जुम्ली विपन्न नागरिक खुसी छन् । राहतको खाद्यान्न लिने बढ्दै छन् । विगतमा आवश्यकता अनुसार दिए पनि छुट अवधिभर प्रतिव्यक्ति २ बोरा मात्रै चामल दिने गरेका छौ ।” 

असोज १ गतेबाट सुरु भएको छुट सुविधा आगामी कार्तिक २४ गतेसम्म लागु हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button