तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।राष्ट्रियसभाका सदस्यहरूले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएकाका परिवारलाई न्याय तथा सुकुम्वासीका समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले कोरोना महामारी बढ्दै गएकाले सबैलाई खोपको व्यवस्था गर्नुपर्ने, भूमिहीनलाई जग्गाको व्यवस्था गर्नुपर्ने, यात्रा गर्दा ट्याक्सी चालकले ठग्ने गरेकाले त्यसप्रति ध्यान दिन सरकारसँग माग गर्नुभयो ।

सांसद खिलकुमार विकले खोप आपूर्ति गरी सबैलाई व्यवस्थित रूपमा लगाउन सरकारसँग माग गर्नुभयो । वृद्धवृद्धाले लामो समयसम्म लाइनमा बस्नुपरेको भन्दै उहाँले त्यसलाई सहज बनाउन सुझाव दिनुभयो ।

सांसद उदया शर्मा पौडेलले काठमाडौँ उपत्यकामा ट्याक्सी चालकले ठग्ने गरेकाले उनीहरूलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । ट्याक्सीमा यात्रा गर्दा मिटरमा भाडा दर निर्धारण गर्न उहाँले माग गर्नुभयो ।

सांसद कविता बोगटीले दार्चुलामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काटेका कारण जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारले भारतीय पक्षको पक्षपोषण गरेको आरोप लगाउनुभयो । बेपत्ता धामीको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो ।

सांसद कोमल वलीले राष्ट्र निर्माणमा कलाकारको उल्लेख्य भूमिका रहेको भन्दै कलाकारलाई पिर, मर्का परेका बेला राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । कलाकार पल्पसा डङ्गोलको स्वास्थ्योपचारका लागि पहल गरिदिन उहाँले सरकारसँग माग गर्नुभयो ।

सांसद खिमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्चीलगायत स्थानमा बाढीले अत्यधिक क्षति गरेकाले उनीहरूलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद चक्रप्रसाद स्नेहीले देशभर लाखौँ सुकुम्वासी रहेको भन्दै उनीहरूलाई जग्गाको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो । सांसद जगप्रसाद शर्माले शैक्षिक मजदुर समस्यामा परेकाले उनीहरूको समस्या समाधान गर्न सरकारले पहल गरोस् भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button