तपाईँ सुन्दै हुनुहुन्छः

तुइनबाट खसेर एक व्यक्ति महाकालीमा बेपत्ता

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२ माल घाटमा तुइनबाट महाकाली नदी तर्ने क्रममा आज एक व्यक्ति नदीमा बेपत्ता भएका छन् ।

 
भारतको उत्तराखण्ड राज्यबाट दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । 


नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।


नेपाली काँग्रेसले दार्चुलामा तुइन तर्ने क्रममा एक युवा बेपत्ता भएको घटनाको वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेको छ ।


पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी भारत उत्तराखण्ड राज्यबाट दार्चुलाको खलङ्गा आउन तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका ३५ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो ।

पार्टी प्रवक्ता शर्माले भारतीय एसएसबीले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भएको र पार्टीको जिल्ला नेतृत्वबाट पनि सोही विवरण प्राप्त भएकोले भारतीय पक्षसँग यसबारेमा संवाद गरी सम्बन्धित परिवारलाई राहत दिलाउन विज्ञप्तिमार्फत आग्रह गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button