तपाईँ सुन्दै हुनुहुन्छः

बेगनासका होटेल खुले पनि त्रास कायमै

लेखनाथ । लेखनाथस्थित बेगनास ताल वरपरका होटेलमा आन्तरिक पर्यटक आउन थाले पनि व्यवसायीमा कोरोना सङ्क्रमणको त्रास भने हट्न सकेको छैन । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो पारेपछि होटेलमा आन्तरिक पर्यटक आउन थालेका छन् । कोरोना सङ्क्रमणकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्याउन नेपाल सरकारले छिटो भन्दा छिटो सबैलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप ल्याउनुपर्ने माग यहाँका व्यवसायीको छ ।

“दुई हप्ताबाट आन्तरिक पर्यटक आउन सुरु भएको छ, तर सङ्क्रमणको त्रासका बिच पाहुनाको सेवा गरेका छांै”, बेगनास तालस्थित ग्राण्ड होटेलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भन्नुभयो, “विकास निर्माणका कामलाई एक वर्ष थाँती राखेर भए पनि नेपाल सरकारले सम्पूर्ण नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य छ ।”सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम सुरु भएको बताइएको छ । कटौती गरी बाँकी रहेका एक दुई जना कर्मचारी र आफैले पनि पाउनालाई सेवा दिँदै आएको होटेल व्यवसायी अधिकारीले बताउनुभयो ।

“घर भाडामा लिएर होटेल सञ्चालन गर्ने केही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटेल सञ्चालन गर्नेले भने एक दुई कर्मचारी राखेर भए पनि होटेल तथा रेष्टुराँ धानेका छौँ, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौँ, तर कोरोना सङ्क्रमणकै कारण बैङ्कको ब्याज तिर्न कठिन भएको छ”, होटेल तथा रेष्टुराँ एशोसिएशन लेखनाथका अध्यक्ष अर्जुन लम्सालले भन्नुभयो, “सरकारले व्यवसायीलाई पुनः कर्जाको व्यवस्था गर्नुपर्छ ।”

लेखनाथमा २०० को हाराहारीमा होटेल तथा रेष्टुराँ सञ्चालनमा छन् । एशोसियशनमा आबद्ध भने १०५ मात्र छन् । अध्यक्ष लम्सालका अनुसार रिसोर्टदेखि साना होटेलले यहाँ आउने पर्यटकलाई सेवा पु¥याउँदै आएका छन् ।बेगनासस्थित न्यु थकाली भान्सा घरका सञ्चालक नीतेश लालचनले भन्नुभयो, “केही दिनदेखि दिउँसोको खाजा खाने गरी आन्तरिक पर्यटन बेगनास आउन थालेका छन् ।” बेगनासतालमा पाइने शहर, रहु, असला, नैनी, कमन, माहुर, तिलपिया बिगहेडलगायत जातका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् । सात तालको बगैँचा शहरका रुपमा परिचित लेखनाथमा यति बेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका होटेल व्यवसायी चित्रबहादुर गुरुङ बताउनुहुन्छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button