तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका सबै विद्यार्थीको हात हातमा पुस्तक पुर्‍याइने निर्णय कार्यान्वयन हुन सकेन

फाइल तस्बिर

जुम्ला । जुम्लाका सबै विद्यार्थीको हात हातमा पुस्तक पुर्‍याउने निर्णय कार्यान्वयन हुन सकेको छैन । 

दोस्रो लहरको कोरोनाले शिक्षा क्षेत्र लामो समयसम्म प्रभावित हुनसक्ने कुरालाई मध्यनजर गर्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले जुम्लाका सबै विद्यार्थीको हात हातमा पुस्तक पुर्‍याउने निर्णय गरेको थियो । 

बैठकमा जुम्लाका करिब १ सय ७० वटा विद्यालयहरूले पुस्तक खरिद गरेर लिने र अनुकूलता अनुसार घरमै पुगेर पुस्तक वितरण र सो अध्ययनका लागि परामर्श दिने निर्णय भएको थियो । 

पहिलो र दोस्रो लहरको कोरोना सङ्क्रमणले सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र भएको छ । कोरोना महामारीको शुरुवाती चरणदेखि नै विद्यालय पूर्ण रुपमा बन्द रहेका छन्  । जसका कारण लाखौँ विद्यार्थीको पढाई प्रभावित भएको छ । 

कोरोनाले  ग्रामीण क्षेत्रका बिद्यार्थीहरुले पुस्तक किन्ने समेत समय नपाएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा जिल्लामा अब बालबालिकाका हातमै पुस्तक पुर्‍याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो  । 

उहाँका अनुसार सरोकारवाला निकायहरूबाट गुनासो आएपछि अव निषेधाज्ञा कम हुँदै गइरहेको समयमा कम्तीमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक देखिएको छ ।

कोरोना सङ्क्रमणले विद्यालय जाने वातावरण त भएन । तर घरमै पनि पुस्तक पुर्‍याउनुपर्ने सुझावपछि कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेका थियो । 

डिसिसिएमसीको बैठकले जुम्लाका सबै विद्यार्थीका हातमा पुस्तक पुर्‍याउने निर्णय गरे पनि हालसम्म निर्णय कार्यान्वयन नभएको पाईदैन् । 

यद्यपि विद्यालयहरूले चाहेको खण्डमा विद्यार्थीका हात हातमा पुस्तक पुर्‍याउने सकिने अवस्था छ, तर लाखौँको पुस्तक गोदाममा महिनौँदेखि थन्किए पनि विद्यालयहरूले चासो नदिँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकिरहेको अवस्था छैन ।

निर्णय भएको हप्ता दिन बितिसक्दा पनि पुस्तक लिन कुनै विद्यालय नआएको जीपि स्टेशनरी तथा सप्लार्यसका प्रमुख गणेश रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कोरोनाले पुस्तक बिक्री नहोला भनेर कमै ल्याइयो । अवस्था सामान्य हुँदै जाँदा पनि विद्यालयहरू पुस्तक लिन आएनन् । विद्यालयहरूले चाहेमा विद्यार्थीका हातमै पुस्तक पुर्‍याउन सकिन्छ । फागुनमा किताब ल्याउँदा जुम्लाका ४०/४५ विद्यालयले लिइसकेका छन् । अझै धेरै विद्यालय बाँकी छन् । बाँकी सबै विद्यालयले किताब लिएर विद्यार्थीकै हातमा किताब पुर्‍याउन् भन्ने हाम्रो अपेक्षा हो ।”

जिल्लाका विद्यालयको खातामा पाठ्यपुस्तक रकम गइसकेको जिल्ला शिक्षा समन्वय समितिले जानकारी दिएको छ । 

शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीले जिल्लाका आठ वटै स्थानीय तहले विद्यालयलाई पाठ्य पुस्तकको रकम दिइसकेको हुँदा अव विद्यालयले चाँडै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउनु पर्नेमा जोड दिनुभयो । 

हाल जुम्लामा १ सय ७० विद्यालयका करिब ४० हजार विद्यार्थी रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button