तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन लिग असोजको पहिलो साता सुरु गर्ने प्रस्ताव तयार

file photo

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यस वर्षको ए डिभिजन लिग असोजको पहिलो साता सुरु गर्ने प्रस्ताव तयार पारेको छ ।


भदौमा शीर्ष डिभिजनको लिग सुरु गर्ने लक्ष्य राखेको एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव गरेको हो । एन्फा क्यालेन्डरमा ए डिभिजन लिग भाद्रदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ ।


यस सिजनको शीर्ष डिभिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने एन्फाको तयारी छ । असोजको पहिलो हप्ता ए डिभिजन लिग सुरु गरेर फागुनसम्म पुर्‍याउने एन्फाले लक्ष्य राखेको छ । ए डिभिजनका क्लबसँग छलफल गरेर लिगको मिति पक्का हुनेछ ।

नयाँ सिजनको घरेलु लिग सञ्चालनको सम्बन्धमा छलफल गर्न एन्फाले सोमबार क्लबसँग छलफल समेत राखेको छ । सो छलफलले एन्फाको प्रस्तावित मितिको सम्बन्धमा औपचारिक निर्णय गर्नेछ ।


कोरोना प्रकोपका कारण अघिल्लो वर्ष ए डिभिजन लिग हुन पाएन । अघिल्लो वर्ष ए डिभिजन लिग आयोजना सम्भव नदेखिएपछि एन्फाले २०७७ सालमा पुरा हुन नसकेका क्यालेन्डरलाई पुरा गरेको थियो । 

सोही अनुसार एन्फाले बी डिभिजन लिगका बाँकी खेल, सी डिभिजन लिग, महिला लिग, एन्फा प्रेसिडेन्ट लिग लगायतका कार्यक्रम पुरा गरेको थियो । 


घरेलु लिग सञ्चालन हुन नसकेको अवस्थामा एन्फाले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो ।

घरेलु लिगका लागि खेलाडी दर्ता प्रक्रिया भने भदौमा सुरु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button