तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारद्वारा एक सय बेडको नयाँ कोरोना विशेष अस्पताल सञ्चालनमा

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले जनकपुरधाममा एक सय शय्याको विशेष कोभिड अस्पताल आजबाट सञ्चालनमा ल्याएको छ ।

जनकपुरधामको वडा नंं १५ मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भव्य भवनलाई थप मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । 

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

विगत १ वर्ष अघि देखी नै उक्त भवनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्ने प्रयास गरिए पनि विभिन्न अवरोधहरूका कारण सञ्चालन नभए पनि पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय धनुषाले सङ्क्रामक ऐनको प्रयोग गरेर कोभिड अस्पताल बनाउनका लागि भवन प्रयोग गर्नका लागि प्रदेश सरकारलाई दिने निर्णय गरेपछि प्रदेश सरकारले करिब साढे तीन करोडको लागतमा मरम्मत एवं सम्भार गरेर सञ्चालनमा ल्याउन सफल भएको छ । 

विशेष कोरोना अस्पतालका उद्घाटन गर्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड सङ्क्रमितहरूको उपचारका अतिरिक्त अन्य विशेषज्ञ स्वास्थ्य सेवाहरू यसै अस्पतालबाट सञ्चालन गर्ने बताउनुभयो । 

उहाँले मणिपाल शिक्षण अस्पताल सञ्चालनका लागी सरकारबाट जग्गा लिजमा लिएको दशकौँ बितिसक्दा समेत अस्पताल सञ्चालन गर्न नसकेकाले सो संस्थाको लिज खारेजी गराई उक्त जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल शुरु भई सकेको जानकारी दिनुभयो । 

मुख्यमन्त्री राउतले यो अस्पतालले अव कोभिडको उपचार मात्र नगरेर अन्य गंभिर प्रकारको रोगहरूको उपचार गर्ने बताउँदै राज्यको अरबौँको जग्गा कुनै एक संस्थाले नियन्त्रणमा लिएर उपयोग विहीन बनाउने काम हुनु दुःखद भएको बताउनुभयो । 

प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमुना प्रतिष्ठान बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले छोटो समयमा नै प्रतिष्ठानले ४ विधामा केन्द्रीय चिकित्सा आयोगबाट शिक्षणको अनुमति प्राप्त गरेको बताउँदै विपिएच, बिएन, विएमएलटी लगायतको विषयहरूको अध्यापन यसै शैक्षिक सत्रबाट शुरु गर्ने बताउनुभयो । 

प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरू, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सकहरू तथा समाजका अन्य क्षेत्रका व्यक्तिहरू  उपस्थित रहनु भएको थियो । कार्यक्रममा भवनको पूर्ननिर्माणका लागि प्राविधिक जिम्मा लिनु भएका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले प्राविधिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button