तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल चीन सीमाको ६० नम्बर पिलरमा सिमाना नमिचिएको दाबी

चीनले ढुङ्गामा लेखेको अस्थायी पिलर ।
दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा रहेको नेपाल चीन सीमाको ६० नम्बर पिलर हराएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यस सम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशन/प्रसारण गरेको सरोकारवालाहरूले बताएका छन् ।
युरोर्पोटर अनलाइनको मे १८, २०२१ को संस्करणमा कोलिन स्टेभेन्सले नेपाल चीन सिमानाको ६० नम्बर पिलर हराएको विषयमा समाचार प्रकाशित गरेका छन् । त्यस अघि अन्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत सो सम्बन्धी समाचार प्रकाशित गरेका थिए । उल्लेखित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ६० नम्बर पिलर हराएपछि चीनले १०.५ मिटर अगाडि नेपाल पट्टी नयाँ पिलरसहित झन्डा गाडेको समाचार प्रकाशित गरेका छन् ।
चीन तिब्बतको टिङ्री स्थित फलाक र दोलखा लामाबगरको ङयाङलुङ खोला किनारमा रहेको ६० नम्बर सीमा पिलर दुई वर्षको आसपास बाढीले बगाएको कारण हराएको हुनसक्ने स्थानीयको भनाई छ । २०७४ सालको स्थानीय निर्वाचनसम्म ६० नम्बर पिलर रहेको भएपनि अहिले सो पिलर हराएको स्थानीयले बताए ।

सो पिलर हराएपछि अहिले चीनले करिब १० मिटर वर नेपाल पट्टी भीरको एउटा ढुङ्गामा चाइनिज अक्षरले लेखेर ६० नम्बर पिलर स्थापना गरेको छ । पहिले पिलर भएको ठाउँमा लेख्ने कुनै ढुङ्गा नभएकोले केही वर दक्षिण तिर रहेको ढुङ्गामा अस्थायी रुपमा ६० नम्बर पिलर लेखिएको हुनसक्ने स्थानीय बताउँछन् । सीमा भएको ङयाङलुङ खोला आसपास दुवै पट्टी निक्कै टाढासम्म पनि बस्ती नभएकोले चीनले नियतवस नेपालको सीमा मिचेर १० मिटर वर नेपाल पट्टी ६० नम्बर पिलर बनाएको आशङ्का गर्ने अवस्था नभएको स्थानीयको भनाई छ ।

पुरानो ६० नम्बर पिलर
नेपाल चीन सीमाको ६० नम्बर पिलर पुग्न नेपाल पट्टी वस्ति भएको लामाबगरबाट झन्डै दुई दिन लाग्छ भने उक्त स्थानबाट चीनको फलाक पुग्न ३/४ घण्टा लाग्छ । चीनको तिब्बतमा पर्ने फलाकमा उनीहरूको सीमा कार्यालय र सानो बजार रहेको छ । सवारी साधनमा फलाकबाट झन्डै ३/४ घण्टाको यात्रापछिमात्र तिब्बतको टिङरी बजार पुग्न सकिने लामाबगरका स्थानीय बताउँछन् । माथिबाट एकधारमा बगेको ङयाङलुङ खोला ६० नम्बर पिलर भएको ठाउँमा आइपुगेपछि दुईधार बनेकोले उक्त पिलर बगाएको र अहिले उक्त ठाउँमा पिलर राख्ने अवस्था नै नभएको स्थानीयको भनाई छ ।
६० नम्बरको पिलर हराएर विवाद भएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले सोही ठाउँमा नयाँ पिलर राख्ने विषयमा गृह मन्त्रालयमा जानकारी गराएको र मन्त्रालयले चीन सरकारसँग कुरा गरेपछि सो प्रक्रिया अघि बढ्ने प्रमुख जिल्ला अधिकार वासुदेव घिमिरेले बताउनु भयो । तर चीनले सीमा मिचेर नयाँ पिलर बनाएको कुरा भने सत्य नभएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।
सीमा प्रशासन कार्यालय दोलखाको प्रमुख बिष्णुकुमारी भुषालले पनि सीमा मिचिएको कुरामा सत्यता नभएको बताउनु भयो । अहिले उक्त ठाउँमा पुग्न मौसमको कारण सम्भावना नहुने भएकोले मौसम अनुकूल हुनासाथ आफूहरू स्थलगत रुपमा पुग्ने र थप कुरा भन्न सकिने सीमा प्रशासन कार्यालय लामाबगरको प्रमुख भुषालले बताउनु भयो ।
दोलखा जिल्लामा नेपाल चीन सिमाना एक सय १३ किलोमिटर रहेको छ । जसमा ५५ नम्बर पिलर देखि ६१ नम्बर पिलरसम्म रहेको र ६० नम्बर पिलर बाहेक अन्य सबै पिलरहरूमा कुनै समस्या नरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button