तपाईँ सुन्दै हुनुहुन्छः

मार्वुका दुई सय घर पहिरोको उच्च जोखिममा

मार्वुको पहिरो
मार्वु, दोलखा । दोलखाको उत्तरी दुर्गम गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ मार्वुका केही भाग पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।
जोखिम बारे गाउँपालिका लगायत सरोकारवाला निकायलाई जानकारी गराइएको भए पनि पहिरो नियन्त्रणमा कतैबाट पनि पहल नभएको उनीहरूको गुनासो रहेको छ ।
गत वर्षको असार ५ र साउन २२ गते गएको पहिरो पूर्ण रुपमा नियन्त्रण नहुँदा जोखिम बढ्दै गएको नेकपा एमाले वडा नम्बर ७ का वडा कमिटी अध्यक्ष लाक्पा शेर्पाले बताए । पहिरो नियन्त्रणको लागि वडा कार्यालय, गाउँपालिका र सङ्घीय सरकारलाई समेत आग्रह गरिएको भए पनि कतैबाट पनि सकारात्मक पहल नभएको लाक्पा शेर्पाले गुनासो गरे ।
वडा नम्बर ७ मार्वुमा रहेको च्याङमार्के खोलाबाट सुरु भएको पहिरोले साबिक मार्वु गाविसको वडा नम्बर ५ को झन्डै एक सय ५० घर धुरी र टोकडिङ (घट्टेखोला) खोलाको पहिरोले झन्डै ४५ घर धुरी उच्च जोखिममा रहेको नेकपा माओवादी केन्द्र वडा नम्बर ७ वडा कमिटीका अध्यक्ष पासाङ शेर्पाले बताए ।
पहिरोका कारण थम्पु, भष्मे, माथिल्लो मार्वु लगायतको गाउँ उच्च जोखिममा रहेको स्थानीयले बताए । च्याङमार्के खोलाबाट सुरु भएको पहिरोका कारण मार्वुमा रहेको स्वास्थ्य केन्द्र समेत उच्च जोखिममा रहेको स्थानीयले बताए ।
गत वर्षको असार र साउनमा दुई पटक ठुलो पहिरो गएपछि मार्वुमा रहेको मुहानहरू समेत सुकेको र त्यसले खानेपानीको समेत समस्या भएको नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष पासाङ शेर्पाले बताए ।
गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं मार्वुका स्थानीय आङदोर्जे (रिन्जी) शेर्पा पहिरोका कारण सिङ्गो मार्वु गाँउनै प्रभावित रहेको तर पहिरो नियन्त्रणको काम गर्न वडा वा गाउँपालिकाको बजेटले मात्र सम्भव नहुने बताउँछन् ।
पहिरो नियन्त्रणमा सहयोग गर्न वडा कार्यालयले गाउँपालिकालगायत सङ्घीय सरकारलाई समेत अनुरोध गरेको तर अहिलेसम्म पहिरो नियन्त्रणको लागि कुनै योजना नआएको वडा अध्यक्ष आङदोर्जे शेर्पाले बताए । यो बर्ष सुरु हुनु अघि नै पहिरो नियन्त्रणको लागि प्रभावकारी काम गर्न नसकिए मार्वुको झन्डै दुई सय घर धुरीका बासिन्दा उच्च जोखिममा पर्ने वडा अध्यक्ष आङदोर्जे शेर्पा बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button