तपाईँ सुन्दै हुनुहुन्छः

थप १ सय ३१ जना निको, १ सय ४ जनामा संक्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज १ सय ३१ जना निको भएका छन् । यो सँगै हालसम्म निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ६० पुगेको छ ।

हालसम्म कूल संक्रमित मध्ये ९८ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ३ हजार ५ सय १ वटा नमूना परिक्षण गर्दा १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ ।

देशभर रहेका १ हजार ६ सय ४ सक्रिय संक्रमित मध्ये ६१ जनाको आइसियु र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दोस्रो चरणमा ३ लाख व्यक्तिलाई खोप लगाउने लक्ष्य अनुसार आज पहिलो दिन ६ हजार बढिले खोप लगाएको जानकारी दिनुभयो ।

यस चरणको खोप अभियानमा सरकारी कर्मचारी, सार्वजनिक संस्थान तथा बैङ्कका कर्मचारी, पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा खटिएका सुरक्षाकर्मी र छुटेका स्वास्थ्यकर्मीलाई खोप लगाइने प्रा. डा गौतमले बताउनुभयो ।

८ गते सम्म संचालन हुने खोप अभियानमा प्राथमिकतामा परेका व्यक्तिहरूले जिल्लास्थित स्वास्थ्य संस्था वा खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button