तपाईँ सुन्दै हुनुहुन्छः

सिस्नेमा छोरी बचत खाता शुरु

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ पाँगाका ४ महिनाकी सीमा खड्काको खाता खोलेर छोरी बचत खाताको थालनी गरेको हो । कृषि विकास बैंकमा खोलेको उनीको बचत खातामा गाउँपालिकाले ५ हजार जम्मा गरिदिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेभन्दा पछाडि जन्मिएका सबै छोरीहरूको बचत खाता खोलिदिने भएको छ । सिस्नेले साउन पछाडि जन्मेका गाउँपालिका क्षेत्रभित्रका सबै छोरीहरूको बचत खाता खोलिदिने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो ।  गाउँपालिकाले सबै छोरीको खातामा रु।५–५ हजार रुपैयाँ जम्मा गरिदिनेछ ।

छोरी बचत खाताको लागि गाउँपालिकाले मापदण्ड पनि निर्धारण गरेको छ । महिलाले  अनिवार्य ४ पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र  जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिस लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने उहाँले  भयो । उहाँका अनुसार यो खाता मुद्दती हुनेछ । छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्न पाइने छ । त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ । २० वर्षपछि उक्त रकम छोरीले निकालेर आफैँ चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ ।

स्वास्थ्य, सचेतना, जागरणका लागि छोरी बचत कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षा र जनचेतना बढाउने उद्देश्यले सो अभियान थालेको गाउँपालिका अध्यक्ष बरालको भनाई छ । छोरी बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button