तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट दर्ज्यानी चिन्ह प्रदान  

काठमाडौँ । नेपाल प्रहरीका जनपद तथा प्राविधिक तर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बिच उहाँहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा १५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १५ जना गरी ३१ जना प्रहरी अधिकृतहरू रहेका छन् । साथै  प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १ जना हाल सुडान डार्फरस्थित एफपियु मिसनमा कार्यरत रहेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीलाई मनन गर्दै थप सजगता र सतर्कता अपनाउँदै कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । नेपाल सरकारद्वारा घोषित निर्वाचन प्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आचरण एवम् व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताउनुभयो । सङ्गठनले अङ्गीकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारीहरू पदिय दायित्व अनुसार ऐक्यबद्ध भई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक ऋषिराम कँडेलले सङ्गठनले लिएको उद्देश्य प्राप्तिका लागि सदैव ऐक्यबद्ध भई नयाँ ऊर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button