तपाईँ सुन्दै हुनुहुन्छः

‘नैतिकता, स्वाभिमान र  इमानदारिताका साथ काम गर्दा मात्रै हरेक क्षेत्रमा सफलता प्राप्त हुने’

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इमानदारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र  इमानदारिताका साथ काम गर्दा मात्रै हरेक क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पार्नुभयो ।

रत्न–धर्म स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले उच्च नैतिकता र इमानदारिताका काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताउनुभयो ।

मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक सङ्घ, संस्थालाई समेत आह्वान गर्नुभयो । उच्च नैतिकता र इमानदारिताका साथ काम गर्न मन्त्री गुरुङले सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री गुरुङले शैक्षिक अभियन्ता डीबी खड्काद्वारा लिखित ‘कल्पना र वेदना’ तथा ‘सपना र सृजना’ नामक कविता सङ्ग्रह तथा ‘जुगुदेखि मुगुसम्म’को अनुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गर्नु भएको थियो भने नेपाली सेनाका उपरथी डा.सहदेव खड्कालाई सम्मान गर्नु भएको थियो ।

त्यस अवसरमा मन्त्री गुरुङले शैक्षिक अभियन्ता खड्काले उच्च माध्यमिक शिक्षा परिषद्मा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याउनु भएको चर्चा समेत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button