तपाईँ सुन्दै हुनुहुन्छः

युवासँग प्रधान सेनापति कार्यक्रम–२०७७ सम्पन्न

काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा NCC Alumni Association Nepal को तेस्रो बार्षिकोत्सवको अवसरमा राष्ट्रिय सेवादल तथा उक्त Association ले जंङ्गी अड्डास्थित सभामण्डपमा संयुक्त रुपमा आयोजना गरेको युवासँग प्रधान सेनापति कार्यक्रम–२०७७ सम्पन्न भएको छ

प्रधानसेनापति थापाले दिप प्रज्वलन गरि शुभारम्भ गर्नु भएको उक्त कार्यक्रममा NCC Alumni Association Nepal का प्रमुख सल्लाहकार निगम हुमागाईले स्वागत मन्तब्य राख्नु भएको थियो । राष्ट्रिय गान, राष्ट्रिय सेवादलको गान तथा नृत्य जस्ता प्रस्तुतिकरणहरु सहितको सो कार्यक्रममा उपस्थित युवाहरुलाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति थापाले उक्त Association ले विश्वब्यापी महामारी कोभिड–१९ को प्रकोप प्रतिकार्यमा स्थानिय स्तरमा विविध समस्या, चुनौति, अभावका विच प्रदर्शन गरेको निःस्वार्थ सेवाभावको प्रशंसा गर्नु हुंदै समाजका विकृति, वेथिती, रुढिवादी परम्परा तथा अपराध निर्मुल गरी सु–संस्कृत र सभ्य समाज निर्माणमा समेत महत्वपूर्ण भूमिका रहने विश्‍वास व्यक्त गर्नु भएको थियो ।

सम्बोधनको क्रममा प्रधान सेनापति थापाले ७७ वटै जिल्लाका विद्यालयहरुबाट राष्ट्रिय सेवा दलमा आवद्ध भई दिक्षित हुन ईच्छुकहरुको माग बढ्दो क्रममा रहनु आफैमा उत्साहप्रद रहेको बताउनु भएको थियो ।

यो कार्यक्रम मार्फत ५० हजार भन्दा बढि सम्भावित देशभक्त सदस्यहरु, राष्ट्रिय जीवनका विविध क्षेत्र र तहमा रहनु भएका सदस्यहरु तथा हरेक वर्ष थपिदै जाने ७ हजार भन्दा बढि नव सदस्यहरुको राष्ट्रभक्ति, अभिप्रेरणा र एकत्वपनले समाज र सोंच बदल्ने सामर्थ्य रहेको बताउनु भएको थियो ।

नेपाल सरकारबाट प्राथमिकता दिइएको यस कार्यक्रमबाट राष्ट्र निर्माण, राष्ट्रियता र राष्ट्रिय एकता सम्बर्द्धनमा नेपाल सरकारले युवा जनशक्तिबाट गरेको अपेक्षा तथा त्यसलाई दिएको महत्व समेत प्रष्ट हुने बताउनु भएको थियो । यसै अवसरमा उहाँले NCC बाट दिक्षित युवाहरुलाई सुरक्षा निकायहरुमा भर्ना भई राष्ट्रसेवामा अग्रसर हुन पनि आग्रह गर्नु भएको थियो ।

उक्त Association का प्रमुख सल्लाहकार सहित केन्द्रीय कमिटीका पदाधिकारीहरु, उपत्यका समन्वय समितिका पदाधिकारीहरु, काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला कार्य समितिका पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त कार्यक्रम राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी रघु भण्डारी (अ.प्रा.) बाट धन्यवाद ज्ञापन मन्तव्य सहित समापन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button