तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद प्रतिभा सम्मानबाट खेलकर्मीलाई पुरस्कृत

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मानबाट खेलाडीसहित खेलकर्मीलाई पुरस्कृत गरेको छ ।

मंगलबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयले ७ खेलाडीसहित विभिन्न विधाका खेलकर्मीलाई नगदसहित पुरस्कृत गरेको हो ।

खेलकुद प्रतिभा सम्मान पुरस्कारका लागि मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले खेलाडी र खेलकर्मीको योगदानमा आधारित रहेर पुरस्कारका लागि छनोट गरेको हो ।

सम्मानित हुने खेलाडीमा शारीरिक सुगठनका समिर श्रेष्ठ, भारत्तोलनका विकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ ६६ हजार ६ सय ६६ रुपैयाँसहित सम्मानित भए ।

यस्तै, गल्फका सुवास तामाङ्ग, साइक्लिङकी लक्ष्मी मगर, तेक्वान्दोकी आयषा शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ जनही १ लाख रुपैयाँसहित सम्मानित भए । सम्मानित हुने अधिकांश खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका थिए ।

मन्त्रालयले तेक्वान्दोका प्रशिक्षक नविन श्रेष्ठ र कराँतेका प्रशिक्षक कुशल श्रेष्ठलाई जनही ५० हजारसहित सम्मान गर्यो । यस्तै, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ, चिकित्सक ज्ञानेन्द्रविक्रम शाह र खेल संघबाट नेपाल गल्फ संघ समान १ लाख रुपैयाँले पुरस्कृत भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button