वनकरिया बस्तीमा पहिलो पटक शुद्ध खानेपानीको व्यवस्था
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–५, मुसेधाप स्थित लोपोन्मुख वनकरिया बस्तीमा पहिलो पटक शुद्ध खानेपानीको व्यवस्था भएको छ ।
खोला–खोल्सीको पानी खान बाध्य बनकरिया बस्तीमा आईतबार शुद्ध पानीका लागि १० वटा ट्युवेल पम्प जडान गरिएसंगै उनिहरुले शुद्ध खानेपानी पिउन पाउने भएका हुन् ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले ३ लाख ३० हजारको लागतमा शुद्ध पानीका लागि वनकरिया वस्तीमा जडान गरेको १० वटा ट्युवेल पम्प आईतबार हस्तान्तरण गरेको हो । खोला र खोल्सीको पानी पिउदै आएको देखेर पानीको लागि ट्युवेल पम्प जडान गरिएको आदिवासी जनजाति महिला महासंघकी निर्मला भुजेलले वताउनुभयो ।
आइतबार एक कार्यक्रमकावीच महिला महासंघले १० वटा ट्युवेल पम्प वस्तीका वासिन्दालाई हस्तान्तरण गरेको हो । वनकरिया वस्तीका वासिन्दाले वर्षायाममा पनि खोला र खोल्सीको धमिलो पानी खादै आएका थिए । गाउँमा नै ट्युवेल पम्प जडान गरिएकाले अव पानीको समस्या भएन वनकरिया समुदायकी अगुवा सन्तमाया वनकरियाले भन्नुभयो ।
मनहरी गाउँपालिका—५ मुसेधापस्थित वनकरिया वस्तीमा २१ घर वनकरिया समुदायको रहेको छ । सवैलाई सहज हुनेगरी पम्प जडान गरिएको छ ।
पम्प हस्तान्तण कार्यक्रममा महिला महासंघले दिपावलीको पुर्वसन्ध्यामा वनकरियाहरुलाई प्रतिघर एक वोरा चामल, तेल, नुन र चिउरालगायत खाद्यान्न समेत उपलब्ध गराएको छ ।
प्रतिक्रिया राख्नुहोस्