तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा कोरोना सङ्क्रमितको मृत्युपछि घर सिल

सप्तरी । सप्तरीका एक वृद्धको कोरोना सङ्क्रमण पुष्टि भएको पाँच घण्टामै उपचारको क्रममा निधन भएको छ ।

राजविराज नगरपालिका–६ निवासी ७२ वर्षीय रामकृष्ण लालदासलाई मधुमेह र मुटु सम्बन्धी समस्याका कारण असार ३१ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उहाँको उपचारकै क्रममा मृत्यु भएको हो । बिहीबार दिउँसो ३ः०० बजेतिर ज्वरो समेत आएपछि उहाँको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । ५ः३० बजे प्राप्त परीक्षण रिपोर्टले कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि आकस्मिक कक्षबाट सोही अस्पतालको आइसोलेसन कक्षमा राखेर थप उपचार सुरु गरेकोमा राती १०ः३० बजेतिर उहाँको निधन भएको परिवारले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार कोरोनाबाट मृत्यु हुने ती वृद्ध जिल्लाका पहिलो व्यक्ति हुन् । सप्तरीमा हालसम्म तीन सय ४४ जनामा कोरोना सङ्क्रमण देखिएको उहाँको भनाई छ ।

सप्तरीका पुराना तथा प्रतिष्ठित व्यापारीका रूपमा चिनिएका दास थरका उनी केही दिनअघि मात्र भारतमा उपचार गराई घर फर्केका थिए । तीन दिन अघि स्वास्थ्यमा पुनः समस्या देखिएपछि आफन्तले उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।

मृतकको शव व्यवस्थापन गर्न धरानमा समस्या देखिएपछि गृह जिल्ला सप्तरीमै ल्याएर अन्त्येष्टिको तयारी गरिरहेको मृतकका आफन्तले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले सङ्क्रमित व्यक्तिको शव व्यवस्थापन गर्न सरकारले तोकेको मापदण्ड अनुसार केही आफन्तको उपस्थितिमा शुक्रवार सेनाको सहयोग लिएर जिल्लाकै सुरक्षित र उपयुक्त स्थानमा शव व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिनुभयो ।

सङ्क्रमितको मृत्यु भए पश्चात् उहाँको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान तथा क्वारेनटाइन गर्ने काम अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो ।

मृतकको परिवारका सदस्यहरू बस्ने घरलाई भने शुक्रवार बिहानैदेखि सिल गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button