तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएका २ जना अझै बेपत्ता, खोजी जारी 

तनहुँ । तनहुँको पहिरोमा पुरिएर बेपत्ता भएका २ जना अझै भेटिएका छैनन् । आइतबार रातिदेखि परेको बर्षाका कारण गएको पहिरोमा परी बेपत्ता हुनेको खोजी कार्य जारी रहेको छ ।

जिल्लाको व्यास नगरपालिका–९ माँझफाटका १ जना र व्यास–११ ओडारेका १ जना गरी जिल्लामा २ जना पहिरोमा परी बेपत्ता रहेका छन् ।

आज मंगलबार बिहानदेखि नै खोजी जारी रहेको व्यास–९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो । बिहानै देखि स्थानीय, सेना र एकसाभेटर लगाएर बेपत्ताको खोजी भईरहेको उहाँले बताउनुभयो ।

व्यास–९ माझफाटका २० वर्षीय राजेश थापा र व्यास–११ ओडारेका ४५ वर्षीय पदम चेपाङ्ग पहिरोमा परेर हराइरहेका छन् । हिलो र भिरालो जमिन भएकाले बेपत्ताको खोजीमा समस्या भएको स्थानीय बासिन्दाले बताए ।

बिहानैदेखि खोजी शुरु गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो । सदरमुकाम दमौली नजिक व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभन्जन गण (इ) बाट सेनाको टोलिसंगै एक्साभेटर र जेसिबी प्रयोग गरेर खोजी कार्य जारी रहेको प्रजिअ अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button