तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट वैकल्पिक सिकाइ प्रविधिको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिको घोषणा गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै आजबाट सुरु हुने वैकल्पिक सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण अवरुद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले रेडियो टेलिभिजन र अनलाइन प्रविधिबाट पठनपाठनको व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई समेत ध्यान दिइएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लामो समयसम्म विद्यालयहरू बन्द रहँदा सिङ्गो शैक्षिक सत्र प्रभावित हुने भएकाले लकडाउनको अवधिमै प्रविधिका माध्यमबाट पठनपाठनको सुरुवात गरिएसँगै अबको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

मुलुक विग्रदैछ छ कि ? भनेर युवाहरूले विभिन्न माध्यमबाट राखेको चासोप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा अब कुनै पनि आन्दोलनको आवश्यकता नभएको बताउनुभयो ।

सुशासन र स्वच्छता कायम भई समृद्ध मुलुक बन्नेमा ढुक्क रहन सबैलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले अबको जनशक्ति सक्षम, स्वस्थ, शिक्षित र योग्य हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय तहका विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सिकाइ सामग्री व्यवस्था गरेको र आगामी दिनमा पठन सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने काममा निरन्तरता दिइने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

लकडाउन खुल्ला गरिएको नभई केही खुकुलो पारिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले स–साना नानीहरूको सिकाइको थलो नै समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिने केन्द्र नबनोस् भन्नेमा शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button