तपाईँ सुन्दै हुनुहुन्छः

कृषि, आपूर्ति तथा दैनिक जनजीवनलाई सहज बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लकडाउनको समयमा अत्यावश्यक सामानको ढुवानी सहज बनाउँदै कृषि, आपूर्ति तथा दैनिक जनजीवनलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले तरकारी, फलफूल तथा खाद्यान्न लगायत अत्यावश्यक सामानको ढुवानीमा भएको अवरोध हटाउन गृह मन्त्रालयलाई र लकडाउनका कारण किसानलाई परेको मर्कामा गम्भीर हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले सर्वसाधारण जनताको स्वास्थ्यलाई ख्याल गर्दै महामारीमा खाद्यान्न अभाव हुन नदिन र आवश्यक खाद्यान्न सञ्चित गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।

समिति बैठकमा गृहमन्त्री रामबहादुर थापाले लकडाउनका समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामानको ढुवानीमा अवरोध नगर्न स्पष्ट निर्देशन भए पनि कहिकतैं कोरोना सङ्क्रमणको त्रासले प्रदेश–प्रदेश र स्थानीय निकायबिच अन्तर विरोध देखिएका कारण केही समस्या भए पनि ढुवानी नरोक्न गृह मन्त्रालयले स्पष्ट निर्देशन दिएको बताउनुभयो ।

उहाँले सीमा सुरक्षा तथा क्वारेन्टीनको सुरक्षामा गृह मन्त्रालय र सुरक्षा निकाय सजग रहेको पनि स्पष्ट पार्नुभयो ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले लकडाउनका कारण कृषिजन्य पदार्थको सहज बजारीकरण नहुँदा किसानलाई मर्का परेको र त्यसको समाधानका लागि मन्त्रालयले हर प्रकारको प्रयत्नमा रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्यवस्तुको गुणस्तरको अनुगमन गर्न सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाका प्रशासकीय अधिकृतलाई तोकिएको र खाद्यवस्तुको सञ्चिति र बिक्री वितरणका लागि नेपाल खाद्य तथा व्यापार कम्पनीले काम गरिरहेको जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले लकडाउनको समयमा विभिन्न ठाउँमा कृषिजन्य वस्तुको ढुवानीमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन र कतिपय स्थानीय तहका पदाधिकारीले नै अवरोध सिर्जना गर्नेदेखि तरकारी नष्ट गरिएको भन्दै त्यस्तो कार्य तत्काल रोक्न र दोषीलाई कारबाही गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button